,

काठमाडौं,१० चैत । सरकारले तोकिएको भन्दा बढि शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढि शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्ने लगायतका कडा कार्वाही गर्ने चेतावनी दिनुभएको हो ।
आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले सरकारको नियम विपरित कुनै पनि मेडिकल कलेजले बढि शुल्क लिएको पाइएमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र सो सम्बन्धमा आवश्यक छानवीन गरी कार्वाही गर्ने व्यवस्था पनि सरकारले गरिसकेको स्पष्ट पार्नु भयो ।
सरकारले चिकित्शा शास्त्र अन्तरगत एमबिबिएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ ।
सचिव बरालले गण्डकी मेडिकल कलेजलाई विद्यार्थीसँग उठाएको बढि शुल्क एक महिना भित्र फिर्ता गरिसक्न निर्देशन दिइएको पनि बताउनुभयो । उहाँले सो मेडिकल कलेजमा लगाइएको तालाबन्दी खोल्ने काम पनि सरकारले गरिसकेको बताउनुभयो ।
समितिका अर्का सदस्य गगन थापाले मेडिकल कलेजहरुमा जथाभावी शुल्क असुली गर्नेलाई निलम्बन गर्नेलगायतका काम गर्न सरकारलाई सचेत गराउनु भयो ।
समितिले मेडिकल कलेजहरुले जथाभावी शुल्क असुल गर्न थालेको उजुरी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा उनका अभिभावकहरुले गरेपछि सो सम्बन्धमा के भईरहेकोे छ ? भनि सरकारसँग आवश्यक छलफल सुरु गरेको हो ।



















प्रतिक्रिया दिनुहोस्