
काठमाडौं,१४ चैत । सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो ।
संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनु भयो । उहाँले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताउनु भयो ।
सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताउनु भयो ।
अव लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोक सेवा आयोग आवेदन खुला गर्नेछ । सोही लोक सेवा आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ ।
मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्