काठमाडौं, १३ जेठ । म्यानपावर ठगीमा अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातका छोरा कमल बस्न्यात संलग्न भएको खुलेको छ ।
कमल बस्न्यातले सञ्चालन गरेको याक्खा ओभरसिज मार्फत् वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको खुलासा भएको हो ।
गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको बस्न्यातले सञ्चालन गरेको ओभरसिजमा छापा मारेको थियो। म्यानपावरबाट प्रहरीले मलेसिया पठाउन लागेका व्यक्तिको ६ सय १ थान राहदानी बरामद गरेको छ।
प्रहरीले ओभरसिजका अर्का सञ्चालक भीमबहादुर रोक्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सो म्यानपावरमा तीनजनाको लगानी रहेको छ। जसमा दुईजना भने फरार छन्। फरार हुनेमा पूर्व आयुक्तपुत्र बस्न्यात र अमित रोक्का छन्।
उनीहरुको खोजी कार्य भईरहेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘तीनजनालाई नै पक्राउ गर्नेगरी गएका थियौँ तर बस्न्यात र रोक्का भने भेटिएनन्। उनीहरूलाई हामी खोजी गरिरहेका छौं।’
वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले १ सय २५ रिंगिट(करिब १५ हजार रुपैयाँ) समेत लिएको प्रहरी अनुसन्धानमा देखिएको महाशाखा एसएसपी सिंहले बताए। उनीहरूले विदेश पठाइदिने भन्दै महँगो शुल्क समेत उठाएको देखिएको छ। ‘१० हजारको भौचर बनाउने तर १ लाख २० हजार रुपैयाँ लिने गरेको रंगेहात भेटियो,’ एसएसपी सिंहले भने। २०७३ वैशाखबाट माइग्राम कम्पनीसँग मिलेर याक्खाले ठगीको सुरु गरेको थियो।
मलेसिया जान लागेका युवाहरुले आफुहरुसँग १ लाख ३० हजार रुपैयाँ लिएको तर १० हजारको कागज मात्र गरेको प्रहरीमा लिखित बयान दिएका छन्। २०७२ जेठ २६ गतेको राज्यमन्त्रीस्तरीय बैठकले सातवटा खाडी मुलुकमा जानका लागि १० हजार रुपैयाँ भन्दाबढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।
श्रम रोजगार मन्त्रालयले बायोमेट्रिक, भिएलएस, माइग्राम र जिएससी प्रणाली खारेज गरिसकेको छ। केही दिनअघि मात्र ठगी गरेको आरोपमा विभिन्न ३४ म्यानपावर कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो।



















प्रतिक्रिया दिनुहोस्