काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय राजनीति र शासन प्रणालीमा भएका अनेकन फेरबदलले देशलाई प्रगतिको पथमा लैजानुको साटो पछाडि धकेलेको टिप्पणी गरे ।राजनीति, राज्यपद्धती र शासन प्रशासनको प्रणालीमा भएका हेरफेरले कोरा परिवर्तन मात्रै भएको तर राष्ट्रको श्रीवृद्धिमा पछि परिएको उनको भनाइ छ । ‘हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ ।
फलस्वरुप देश प्रयोगशाला मात्रै बन्यो ।’ उनले भने ।शुभकामना सन्देशमा पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपालले वाञ्छित विकास गर्न नसकेको र नेपालीको मनोभावना पनि निराशाजनक रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “राजनीति, राज्य पद्धति र शासन प्रशासनमा धेरै हेरफेर हेर्यौँ, कोरा परिवर्तन मात्र भयो। राष्ट्रको श्रीवृद्धिमा हामी पछि पर्यौँ। सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो ।”शुभकामना सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई उनले उत्साहको विषय भएको बताएका छन् । उनले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका युवाहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
देश चौतर्फी समस्याको चाङमा रहेको बताउँदै पूर्वराजा शाहले अहिलेको प्राथमिकता राष्ट्रिय हितमा हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकी र बाह्य मित्रशक्तिसँगको सहयोग र सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।”
उनले आन्तरिक सुरक्षा प्रणाली नाजुक रहेको भन्दै देशलाई जोगाउन र नागरिकलाई शारीरिक, मानसिक तथा भौतिक सुरक्षाको अनुभूति दिलाउन राज्यको गम्भीर ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याए । निषेध, फुट, द्वन्द्व र विग्रहले राष्ट्रलाई कमजोर बनाउने बताउँदै उनले परस्परको सद्भावमा जोड दिएका छन् ।



















प्रतिक्रिया दिनुहोस्