काठमाडौं, ३ असार । पार्टी एकता भएको सात महिना नपुग्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र गम्भीर आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेतृत्वमाथि असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाललाई ३६ बुँदे असन्तुष्टि पत्र पठाएका हुन्।
उनले पठाएको पत्रमा सह-संयोजक माधवकुमार नेपालको कार्यशैलीप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।खनालले पार्टी एकता भएको लामो समय बित्न लाग्दासमेत आफूलाई पूर्ण रूपमा जिम्मेवारीविहीन बनाएर अपमान गरिएको उल्लेख गर्दै नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन्।करिब ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय आफूजस्तो वरिष्ठ नेतालाई किनारा लगाउनु सुनियोजित व्यवहार भएको उनको दाबी छ। पूर्वप्रधानमन्त्री खनालले पार्टी एकताअघि भएका वैचारिक सहमति तोडिएको आरोप लगाउँदै दाहालले मार्क्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादको आधारमा भएको समझदारीबाट पछि हटेको उल्लेख गरेका छन्।
त्यस्तै प्रचण्ड आफ्नो राजनीतिक अडानमा टिक्न नसकी माधव नेपालको दबाब र प्रभावमा परेको आरोपसमेत खनालले लगाएका छन्।पत्रमा माधव नेपालमाथि पनि तीखा टिप्पणी गरिएको छ। खनालले पार्टीभित्र गुटबन्दी, योग्य नेता तथा युवामाथि पूर्वाग्रहपूर्ण व्यवहार र आफ्नो मतसँग नमिल्नेहरूलाई पाखा लगाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन्।साथै, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका र नैतिक प्रश्नको घेरामा परेका माधव नेपाललाई पार्टीको सहसंयोजक बनाइनु नेतृत्वको नैतिक पतन भएको टिप्पणी गरेका छन्।खनालले एमाले विभाजनदेखि साविक नेकपा विघटनसम्मका निर्णयलाई आत्मघाती राजनीतिक गल्ती भनेका छन्।
साथै, पार्टीमा बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवादलाई प्रवेश गराएर कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा कमजोर बनाउने प्रयास भएको आरोपसमेत लगाए।लामो असन्तुष्टि व्यक्त गर्दै खनालले पार्टीभित्र आफूलाई खोरभित्र जस्तै बन्दी बनाइएको अनुभूति भइरहेको उल्लेख गरेका छन्।उनले वैचारिक स्पष्टता र नैतिकता गुमाएको नेतृत्वबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण सम्भव नहुने चेतावनी दिए।







प्रतिक्रिया दिनुहोस्