न्यायाधीशको सम्पत्ति कि संविधानको परीक्षा?
काठमाडौं। काठमाडौंमा एउटा अनौठो दृश्य देखिएको छ। सरकारले सम्पत्ति खोज्न आयोग बनायो, तर आयोगले खोज्न थालेको सम्पत्तिभन्दा ठूलो प्रश्न आयोगकै अस्तित्वमाथि उठेको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो सम्पत्ति लुकाएनन्। बरु उल्टै सार्वजनिक गरे। तर उनले आयोगको ढोका भने टेकेनन्। उनको तर्क सरल छ— “मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, मलाई जाँच्न खोज्ने आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर।”
यो विवाद अब सम्पत्तिको हिसाबकिताबभन्दा धेरै पर पुगेको छ। प्रश्न अब घर, जग्गा, बैंक खाताको छैन। प्रश्न राज्यका तीन अंगबीचको दूरी र मर्यादाको हो।
खतिवडाले उठाएको मूल प्रश्न यस्तो छ— सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्तिलाई कार्यकारिणी अर्थात् मन्त्रिपरिषद्ले बनाएको आयोगले फेरि बोलाउन सक्छ कि सक्दैन? यदि सक्छ भने न्यायपालिकाको स्वतन्त्रताको सीमा कहाँसम्म रहन्छ? यदि सक्दैन भने सार्वजनिक पदमा बसेका व्यक्तिको उत्तरदायित्व कसरी सुनिश्चित हुन्छ?
उनको असहमति आयोगसँग होइन, आयोगको हैसियतसँग छ। त्यसैले उनले सम्पत्ति लुकाउन खोजेनन्, तर सम्पत्ति बुझाउन भने मानेनन्।
यस घटनाले एउटा रोचक विरोधाभास जन्माएको छ। आयोगले सार्वजनिक पदाधिकारीको सम्पत्ति पारदर्शी बनाउन खोजेको छ। तर अहिले आयोग आफैं आफ्नो वैधानिकता प्रमाणित गर्नुपर्ने स्थितिमा पुगेको छ।
पूर्वन्यायाधीश समाजले पनि यसअघि यस्तै निष्कर्ष निकालेको थियो। त्यसैले खतिवडाको प्रतिरोध व्यक्तिगत मात्र होइन, न्यायपालिकाभित्र लामो समयदेखि रहेको एउटा संस्थागत दृष्टिकोणको सार्वजनिक अभिव्यक्ति पनि हो।
सरकारले सम्पत्ति छानबिन आयोगलाई सुशासनको औजारका रूपमा प्रस्तुत गरिरहेको छ। तर खतिवडाको प्रश्नले अर्को बहस जन्माएको छ— सुशासनको खोजीमा राज्यले संविधानले कोरेका सीमारेखा नाघ्न पाउँछ कि पाउँदैन?
अहिलेसम्म आयोगले सम्पत्ति मागिरहेको थियो। अब आयोगमाथि नै प्रश्नको वर्षा भइरहेको छ।
सम्पत्तिको फाइल खुल्नुअघि संविधानको पुस्तक फेरि पल्टाउनुपर्ने अवस्था आएको छ।
र सम्भवतः यही नै यो घटनाको सबैभन्दा ठूलो राजनीतिक तथा संवैधानिक सन्देश हो— कहिलेकाहीँ सम्पत्तिभन्दा महँगो कुरा प्रतिष्ठा हुन्छ, र प्रतिष्ठाभन्दा ठूलो कुरा संविधान।
‘मेरो सम्पत्ति विवरण यही हो ’
१. मेरो वैयक्तिक विवरण:
नाम, थर: ईश्वरप्रसाद खतिवडा
जन्ममिति: २०१५ साल फागुन २५ गते
राष्ट्रिय परिचयपत्र: लिएको छु।
पान नम्बर : लिएको छु।
पासपोर्ट: सरकारी पदाधिकारीको हैसियतले विदेश जाने सिलसिलामा सुरुमा नीलो (सरकारी) पासपोर्ट लिइयो। २०६२ सालपछि पदीय हैसियतले विदेश जाँदा रातो (कूटनीतिक) पासपोर्ट प्रयोग गरियो। यसबिच साधारण पासपोर्ट पनि लिइएको थियो। त्यस्ता अरू सबै पुराना पासपोर्टहरूमा तोकिएको म्याद अहिले बाँकी छैन। म्याद बाँकी रहेको “एउटा साधारण पासपोर्ट” मात्र मसँग छ।
२. शैक्षिक योग्यता:
१. त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसबाट २०३५–२०३८ समूहमा नियमित विद्यार्थीका रूपमा अध्ययन गरी कानून विषयक स्नातक तह (LL.B.) को उपाधि हासिल गरेको।
२. त्रिभुवन विश्वविद्यालयबाट २०४२ सालमा राजनीतिशास्त्र (Political Science) विषयमा स्नातकोत्तर (M.A.) उपाधि हासिल गरेको।
३. पञ्जाब विश्वविद्यालय (चण्डीगढ, भारत) बाट सन् १९९२ मा कानून विषयक स्नातकोत्तर (LL.M.) उपाधि हासिल गरेको।
३. ठेगाना:
स्थायी ठेगाना: प्रदेश: कोशी, जिल्ला: सुनसरी, नगरपालिका: इनरुवा, वडा नं. ५, टोल: बलाहा।
(द्रष्टव्य: अहिले यस ठाउँमा मेरो कुनै घर छैन। नागरिकताको प्रमाणपत्रमा यही ठेगाना उल्लेख भएको, हालसम्म बसाइँसराइको प्रक्रिया पनि पूरा गर्न बाँकी नै रहेको र त्यस ठाउँमा घर नभए पनि केही जग्गा रहेको हुँदा यसैलाई स्थायी ठेगाना भनी उल्लेख गरिएको हो।)
हालको ठेगाना: प्रदेश: बागमती, जिल्ला: काठमाडौँ, नगरपालिका: काठमाडौँ म.पा., वडा नं. ४, टोल: टुँडालदेवी, बाटोको नाम: अर्धचक्र मार्ग।
४. पारिवारिक विवरण:
(१) मेरी माता नर्मदादेवी खतिवडा मेरो बाल्यकालमै अर्थात् २०२६ सालमा नै स्वर्गीय भइसक्नुभएको छ।
(२) मेरा पिता तोयानाथ खतिवडाले पनि २०६० सालमा नै महाप्रस्थान गर्नुभएको थियो।
(३) हाम्रा माता-पिताका अहिले हामी ५ जना छोराहरू जीवित छौँ। हामी दाजुभाइहरूबिच करिब ४५ वर्षअगाडि २०३६/०३७ सालमा नै विधिवत् रूपमा अंशबन्डा लिखत रजिस्ट्रेसन पारित भई सगोल परिवारबाट भिन्न भइसकेका थियौँ। कान्छो भाइ पुरुषोत्तमको देहावसान भएपछि २०४८/०४९ सालको आसपासमा केही आन्तरिक घरायसी व्यवस्थापन मिलाइएको थियो। पिताजीले महाप्रस्थान गर्नुभएपछि अर्को चरणको व्यवहार मिलाइयो। हामी ५ जना दाजुभाइ छुट्टिई अलग-अलग रहेका छौँ।
(४) प्रभा खतिवडा मेरी पत्नी हुन्। उनी पेसाले गृहिणी हुन्। हामी दम्पतीसहित छोराबुहारी का.म.न.पा.–४, विशालनगर (टुँडालदेवी) स्थित निजी निवासमा बसोबास गर्दै आएका छौँ।
(५) हाम्रो एक मात्र छोरा अपूर्व खतिवडा त्रि.वि.वि. अन्तर्गत नेपाल ल क्याम्पसमा प्राध्यापन पेसा र स्वतन्त्र कानून व्यवसायीका रूपमा कानून व्यवसायमा संलग्न छ। अपूर्वले बेलायतस्थित विश्वविख्यात युनिभर्सिटी अफ क्याम्ब्रिज (University of Cambridge) बाट LL.M. उपाधि हासिल गरेको छ। अध्ययनका लागि अपूर्वले ड्युक अफ एडिनबर्ग ट्रस्ट (Duke of Edinburgh Trust) र क्याम्ब्रिज ओभरसिज ट्रस्ट (Cambridge Overseas Trust) बाट छात्रवृत्ति (Scholarship) प्राप्त गरेको थियो।
(६) सुदेश्ना थापा (खतिवडा) हाम्री कुलवधु (छोराबुहारी) हुन्। स्विडेन (Sweden) स्थित लुन्ड युनिभर्सिटी (Lund University) बाट कानून विषयमा स्नातकोत्तर (Master’s Degree) हासिल गरेकी उनी द एसिया फाउन्डेसन (The Asia Foundation) मा वरिष्ठ अनुसन्धान तथा ज्ञान व्यवस्थापन विशेषज्ञ (Senior Research and Knowledge Management Specialist) का रूपमा कार्यरत छिन्।
(७) इभा खतिवडा हाम्री एक मात्र छोरी हो। उसको अमेरिका निवासी असिम उप्रेतीसँग सन् २०१४ मा विवाह भएको छ। उनीहरूबाट एक छोरी (हाम्री नातिनी) आर्या उप्रेतीको जायजन्म भएको छ। छोरी इभा खतिवडा सपरिवार अमेरिकाको क्यान्सास राज्य, विचिटा सहरको लेक वे सिटी, एन्डओभर (Lake way Ct. Andover, Wichita, Kansas State) मा बसोबास गर्दै आएका छन्। नातिनी आर्या अहिले एन्डओभरस्थित एलिमेन्टरी स्कुल (Elementary School) मा कक्षा ३ मा अध्ययनरत छिन्।
५. सार्वजनिक सेवासम्बन्धी विवरण
१. लोकसेवा आयोगको सिफारिसमा मिति २०३७/०१/२६ गते वन विभाग, बबरमहलको नायब सुब्बा (प्रशासन) पदमा नियुक्ति भएपछि मेरो सार्वजनिक सेवाक्रम प्रारम्भ भएको थियो। सो पदमा रहेर लगभग २ वर्ष ९ महिना कार्य गरियो। नेपाल ल क्याम्पसमा कानून स्नातक तह अध्ययनको अवधिमा अपनाइएको यो रोजगारी प्रकारान्तरले मेरा लागि सरकारी छात्रवृत्ति जस्तो हुन पुगेको थियो।
२. लोकसेवा आयोगको सिफारिसअनुसार मिति २०३९/१२/०७ देखि न्याय सेवाको शाखा अधिकृत पदमा नियुक्त भएको थिएँ।
३. मिति २०४४/११/१४ मा सहायक सचिव पदमा खुला प्रतिस्पर्धाबाट मेरो बढुवा भएको थियो।
४. मिति २०४९/१२/०१ मा उपसचिव पदमा बढुवा भएको हो।
५. २०४९ सालको पछिल्लो केही महिनादेखि २०५० साल चैतसम्म करिब १३/१४ महिना का.मु. सहन्यायाधिवक्ता (रा.प. प्रथम श्रेणी) को पदमा रही काम गरेको थिएँ।
६. न्यायपरिषद्को सिफारिसमा मिति २०५०/१२/१५ मा म जिल्ला न्यायाधीश पदमा नियुक्त भएको थिएँ।
७. न्यायपरिषद्को सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीश पदमा मिति २०६२/१२/१० मा नियुक्ति भएको हो।
८. २०७० साल असारदेखि पुनरावेदन अदालतको मुख्य न्यायाधीश पदमा का.मु. मुकरर भई कार्य गरेको क्रममा मिति २०७१/०५/१० मा न्यायपरिषद्को सिफारिसमा पुनरावेदन अदालतको मुख्य न्यायाधीश पदमा मेरो नियुक्ति भएको थियो।
९. न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा मिति २०७३/०४/१७ मा नियुक्ति भयो।
१०. सेवाक्रममा ६५ वर्ष उमेर हदको कारणबाट मिति २०८०/११/२५ देखि म सेवानिवृत्त भएको थिएँ।
११. यसरी उपरोक्तअनुसार मिति २०३७ साल वैशाख २६ गतेदेखि २०८० साल फागुन २४ गतेसम्म कुल ४३ वर्ष ९ महिना २९ दिन मैले निरन्तर (अविच्छिन्न) रूपमा सार्वजनिक जवाफदेहिताको पदमा रहेर आफ्नो पदीय कर्तव्य निर्वाह गरेको थिएँ। यसमध्ये करिब ३० वर्ष न्यायाधीशको हैसियतले न्याय सम्पादनको कार्य गरेको थिएँ। यो ३० वर्षमध्ये पनि करिब ७ वर्ष नेपाल सरकारको विशिष्ट श्रेणीका अधिकृतसरहको पुनरावेदन अदालतको न्यायाधीश पदमा र करिब ११ वर्ष विशिष्ट श्रेणीभन्दा माथिल्लो तहको न्यायाधीश (मुख्य न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश) को हैसियतमा न्यायिक सेवामा संलग्न रहेको थिएँ।
१२. सेवा अवधिमा मैले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अदालत तथा कार्यालयहरूका अतिरिक्त तनहुँ, धनकुटा, धरान, पोखरा, सिन्धुली, वीरगन्ज, चितवन, बागलुङ, बुटवल, दिपायल तथा राजविराजमा रहेर सेवा गरेको थिएँ।
१३. सार्वजनिक सेवाको क्रममा तत्-तत् समयमा प्रचलित कानूनबमोजिम पदीय तह वा हैसियतअनुसार पाउने तलब, भत्ता र अन्य सुविधा प्राप्त गर्ने गरेको थिएँ। यसको फेहरिस्त विवरण मैले राखेको छैन। करिब ४४ वर्षको सेवा अवधिमा मासिक र सालबसाली रूपमा कति रकम भुक्तानी लिइयो भन्ने कुराको संस्मरण मेरा लागि सम्भव भएन। त्यसैले भुक्तानी पाएको रकमको अङ्क खुलाउन सकिएन। संस्थागत रूपमा कानूनबमोजिम जति तलब, भत्ता र अन्य सुविधा प्रदान गरिएको थियो, त्यसलाई ग्रहण गरियो। यससम्बन्धी सबै तथ्याङ्क विवरण सरकारी अभिलेखहरूमा नै सुरक्षित रहेका होलान्।
१४. सेवाबाट निवृत्त भएको मिति २०८० फागुन २५ गतेदेखि २०८३ साल जेठसम्म मासिक रु. ७४,५५०।– का दरले निवृत्तिभरण रकम प्रदान गर्ने गरिएको छ।
६. विदेशमा रहेको र आयआर्जन गरेको (अध्ययन/भ्रमण/तालिम/सभा-समारोहमा सहभागिता) को विवरण
(१) सन् १९९० देखि १९९२ सम्म दुई वर्ष कोलम्बो प्लान (Colombo Plan) अन्तर्गत भारत सरकारबाट प्राप्त छात्रवृत्तिमा LL.M. तहको उपाधि हासिल गर्न अध्ययनार्थ पञ्जाब विश्वविद्यालय, चण्डीगढ (भारत) मा रहेको थिएँ। मैले सो उपाधि प्रथम श्रेणीमा हासिल गरेको छु। अध्ययन अवधिमा मैले करिब १ लाख ३५ हजार भा.रु. (करिब २ लाख १५ हजार ने.रु. बराबर) रकम छात्रवृत्ति र अन्य विविध खर्चबापत प्राप्त गरेको थिएँ।
(२) युनिभर्सिटी अफ कोलम्बो (University of Colombo) र इन्टरनेसनल वुमन्स राइट्स एक्सन वाच (International Women’s Rights Action Watch) को निमन्त्रणा, आयोजना र व्यवस्थापनमा भएको छलफल कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश (पछि प्रधानन्यायाधीश हुनुभएको) श्री केदारनाथ उपाध्यायसहितको टोलीमा सामेल भई जुलाई १९९८ मा श्रीलङ्काको कोलम्बो गएको थिएँ। यस क्रममा केही पकेट खर्च पाएको थिएँ। यसपटकको भ्रमण अवधि कुल ९ दिनको थियो।
(३) डेनिस क्रिमिनल जस्टिस सिस्टम (Danish Criminal Justice System) सम्बन्धी अवलोकन र अध्ययनका लागि डेनिस इन्स्टिच्युट फर ह्युमन राइट्स (Danish Institute for Human Rights) को आमन्त्रण र व्यवस्थापनमा सन् १९९८ अक्टोबरमा करिब १० दिनका लागि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश (पछि प्रधानन्यायाधीश हुनुभएको) श्री केशवप्रसाद उपाध्यायसहितको टोलीमा सामेल भई म पनि कोपेनहेगन (डेनमार्क) गएको थिएँ। यस क्रममा करिब रु. ५० हजारजति पकेट खर्च हात परेको थियो।
(४) सिङ्गापुरको सर्वोच्च अदालत र त्यहाँको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निमन्त्रणामा “Administration of Justice in Singapore: An Ethic for Effective Judicial Change” विषयक कार्यक्रममा सहभागी हुन र न्यायिक निकायहरूको अवलोकन भ्रमणसमेतका लागि युएनडिपी (UNDP) को प्रायोजन (Sponsorship) मा सन् २००१ मा दुई हप्ताको लागि सर्वोच्च अदालतका तत्कालीन रजिस्ट्रार श्री श्रीप्रसाद पण्डित र म सिङ्गापुर गएका थियौँ। यस क्रममा लगभग ९ सय अमेरिकी डलरजति रकम प्राप्त भएको थियो।
(५) “Criminal Justice System in the Philippines” विषयमा युनिभर्सिटी अफ फिलिपिन्स (University of Philippines) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन न्यायाधीशहरू तथा न्याय सेवाका अधिकृतहरूसहितको १६ जनाको भ्रमण टोलीमा सामेल भएर सेप्टेम्बर २००२ मा दुई हप्ताको लागि मनिला (फिलिपिन्स) गएको थिएँ। यो कार्यक्रमका लागि युएनडिपीको ‘रिफर्म अफ द जुडिसियरी प्रोजेक्ट’ (UNDP, Reform of the Judiciary Project) ले सहयोग (Support) गरेको थियो। कार्यक्रमका सन्दर्भमा यातायात खर्च, होटल बासबाहेक करिब ६०० अमेरिकी डलरबराबर पकेट खर्च पाएको थिएँ।
(६) सन् २००४ देखि २००५ सम्म करिब १० महिना अवधिका लागि डानिडा (DANIDA) को छात्रवृत्ति (Sponsorship) मा डेनिस इन्स्टिच्युट फर ह्युमन राइट्समा आबद्ध रहेर मानव अधिकार अनुसन्धानकर्ता (Human Rights Researcher) को रूपमा शोधकार्य गर्न कोपेनहेगन (डेनमार्क) गएको थिएँ। यस क्रममा मैले “Ensuring Fair Trial in Cases of Children in Conflict With the Laws” विषयमा अध्ययन/शोधकार्य गरेको थिएँ।
अध्ययन अवधिमा ‘डानिडा फेलोसिप सेन्टर’ (DANIDA Fellowship Centre) मा नै बसोबासको सुविधा पनि प्रदान गरिएको थियो। यस कार्यक्रमको सिलसिलामा छात्रवृत्ति र तथ्य-तथ्याङ्क सङ्कलन प्रयोजनका लागि फिल्ड भ्रमण भत्तासमेत गरेर लगभग ९० हजार डेनिस क्रोनर (तत्कालीन विनिमय दरअनुसार करिब रु. १० लाख) रकम प्राप्त भएको थियो।
(७) तत्कालीन सम्माननीय प्रधानन्यायाधीश श्री मीनबहादुर रायमाझीले रसियन प्रधानन्यायाधीश भ्याचेस्लाभ मिलेसोभिचको मैत्रीपूर्ण निमन्त्रणाको सिलसिलामा गर्नुभएको मस्को भ्रमण टोलीमा सामेल भई सेप्टेम्बर २००९ मा करिब एक हप्ता मस्को (रुस) गएको थिएँ। रुस भ्रमणका लागि यातायात खर्च, होटल खर्च आदि सबै कुराको व्यवस्थापन रसियन सर्वोच्च अदालतले गरेको थियो। यस भ्रमणका सन्दर्भमा प्रचलित कानूनबमोजिम पकेट खर्च, लुगा भत्ता आदिबापत केही रकम प्राप्त भएको थियो।
(८) तत्कालीन सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठको नेतृत्वको टोलीले फिनल्यान्ड, नर्वे र डेनमार्कसहितका देशहरूको न्याय व्यवस्थासम्बन्धी अध्ययन र अवलोकन गर्ने भ्रमण टोलीमा म पनि सामेल रहेको थिएँ। अक्टोबर २०१५ मा गरिएको यो भ्रमण कुल १३ दिन अवधिको थियो। युएनडिपीद्वारा यातायात, होटल आदि सबै खर्चको व्यवस्थापन गरिएको यो भ्रमण कार्यक्रमका सन्दर्भमा करिब रु. ३ लाखबराबरको विदेशी मुद्रा पकेट खर्चबापत प्राप्त भएको थियो।
(९) चाइनिज ल सोसाइटी (Chinese Law Society) को निमन्त्रणामा “One Belt – One Road Initiatives” विषयमा आयोजित कार्यक्रममा नेपालका प्रधानन्यायाधीशको प्रतिनिधिको रूपमा भाग लिन डिसेम्बर २०१६ मा ४ दिनको लागि कुन्मिङ (चीन) गएको थिएँ। यस सन्दर्भमा यातायात, होटल आदि सबै खर्च आयोजकले व्यहोरेको हुँदा प्रचलित कानूनबमोजिम केही रकम पकेट खर्चको रूपमा प्राप्त गरेको थिएँ।
(१०) भारतीय सर्वोच्च अदालत र ग्रिन ट्रिब्युनल (Green Tribunal) को निमन्त्रणामा वातावरणीय न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन तत्कालीन सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्की समेतको भ्रमण टोलीमा सामेल भई मार्च २०१७ मा ४ दिनको लागि म पनि दिल्ली (भारत) गएको थिएँ। भ्रमणका लागि यातायात, होटल आदि सबै खर्च आयोजकले व्यहोरेको हुँदा प्रचलित कानूनबमोजिम केही रकम पकेट खर्च प्राप्त भएको थियो।
(११) “Universal and Equal Electoral Justice: Judicialization or other Dispute Resolution Mechanisms” विषयमा मेक्सिकोको इलेक्टोरल ट्रिब्युनल (Electoral Tribunal of the Federal Judiciary of Mexico) ले आयोजना गरेको कार्यक्रममा भाग लिन डिसेम्बर २०१८ मा कुल एक हप्ताको लागि म कान्कुन (मेक्सिको) गएको थिएँ। भ्रमणका लागि यातायात, होटल बास आदि सबै खर्च आयोजकले व्यहोरेको हुँदा प्रचलित कानूनबमोजिम केही रकम पकेट खर्च प्राप्त भएको थियो।
(१२) साङ्घाई युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड ल (Shanghai University of Political Science and Law) र युनिभर्सिटी अफ हङकङ (University of Hong Kong) ले संयुक्त रूपमा आयोजना गरेको “Building Trust and Confidence in the Judiciary, especially in the context of the Belt and Road Initiative” विषयक कार्यक्रममा सहभागी हुन उल्लिखित संस्थाको आमन्त्रणमा म डिसेम्बर २०१८ मा करिब एक हप्ताको लागि साङ्घाई (चीन) गएको थिएँ। भ्रमणका लागि यातायात, होटल बास आदि सबै खर्च आयोजकले व्यहोरेको हुँदा प्रचलित कानूनबमोजिम केही रकम पकेट खर्च प्राप्त भएको थियो।
(१३) जापान इन्टरनेसनल कोअर्डिनेसन एजेन्सी – जाइका (JICA) को आतिथ्य र व्यवस्थापनमा सन् २०२३ डिसेम्बरमा दुई हप्ताको लागि कुल १६ जना नेपाली न्यायाधीश तथा अधिकृतहरू सम्मिलित टोलीको नेतृत्व गर्दै म टोकियो (जापान) गएको थिएँ। यस अवधिमा नेपालको देवानी संहिताको कार्यान्वयन र सुधारको विषयमा जापानी प्रोफेसरहरूसँग अन्तरक्रिया गर्नुका साथै जापानी न्याय व्यवस्थाका सम्बन्धमा केही अध्ययन र अवलोकन समेत गरिएको थियो। भ्रमणका लागि यातायात, होटल बास आदि सबै खर्च आयोजकले नै व्यहोरेको हुँदा प्रचलित कानूनबमोजिम केही रकम पकेट खर्च प्राप्त भएको थियो।
(१४) उपरोक्तअनुसारका देशहरू तथा कार्यक्रमहरूबाहेक मैले अरू पनि कतिपय वैदेशिक भ्रमणहरू गरेको थिएँ। अमेरिका, फ्रान्स, जर्मनी, स्विडेन, इस्टोनिया, बङ्गलादेश, थाइल्यान्डलगायतका देशहरूमा पनि प्रसङ्गअनुसार प्रायः निजी भ्रमणको रूपमा पुगिएको थियो। हङकङ तथा बेइजिङ पनि सार्वजनिक सेवाकालमै पुगियो। सेवाबाट निवृत्त भएपछि भियतनाम पनि गएको थिएँ। यसरी गरिएका भ्रमणहरू कुनै पारिवारिक, कुनै साङ्योगिक र व्यावहारिक अनुकूलताका सन्दर्भमा गरिएका थिए। त्यस्ता सबै विवरण यहाँ खुलाउन सम्भवतः आवश्यक नभएकाले सवै विवरण उल्लेख नगरी प्रतिनिधिमूलक कुराहरूको मात्र प्रयोजन र सन्दर्भ माथि उल्लेख गरिएको हो।
(१५) वैदेशिक भ्रमणका सन्दर्भमा आर्जित (प्राप्त) रकमको विवरण छुट्टाछुट्टै नराखिएको हुँदा आफ्नो सम्झनाको आधारमा माथिको विवरण उल्लेख गरिएको छ। यो रकम अङ्कमा केही सामान्य तलमाथि परेको पनि हुन सक्तछ। तर खासै तात्त्विक फरक परेको छैन। माथि उल्लेख गरिएअनुसार वैदेशिक अध्ययन, अवलोकन, अन्तरक्रिया आदि विविध कार्यक्रमको सिलसिलामा भ्रमणमा जाँदाको क्रममा कम्तीमा २५ लाख र बढीमा ३० लाख रुपैयाँबराबरको रकम आर्जन भएको थियो। त्यसमध्ये सालाखाला करिब ३० प्रतिशतको हाराहारीमा भ्रमण क्रममा खर्च भएको र बाँकी करिब ७० प्रतिशत रकम सञ्चित हुन पुगेको थियो।
७. विदेशबाट विप्रेषण आय (Remittance Income) प्राप्त गरेको विवरण
अमेरिकामा रहेकी छोरी इभा, भाइ नरेन्द्रकुमार खतिवडा तथा भतिजो मनोज खतिवडासमेतले उनीहरूको पारिवारिक व्यवहारको सिलसिलामा केही पटक केही सामान्य रकम पठाएका थिए। त्यो कुनै ठुलो रकम थिएन। करिब १५ वर्षभन्दा अगाडिकै कुरा भएकाले त्यस कुराको यकिन तथ्याङ्कसहितको तिथि-मिति सम्बन्धी जानकारी वा संस्मरण अहिले मलाई छैन। जुन प्रयोजनका लागि उनीहरूले सानो कलमको रकम पठाएका थिए, सोही प्रयोजनमा खर्च पनि भएको थियो। ममार्फत त्यसरी पठाएको रकम मेरो आय थिएन। संयोगले माध्यम मात्रै बन्नुपरेको थियो।
८. कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सञ्चित बिदा, औषधोपचार खर्च तथा बिमाबाट प्राप्त रकमको विवरण:
१. सेवानिवृत्त भएको छ वर्ष अवधिसम्म कोषमा रहेको रकम यथावत् राख्न सकिने र बैङ्कको तुलनामा केही बढी रकम ब्याज प्राप्त हुने भन्ने बुझिएकोले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा म सेवानिवृत्त हुँदा जे जति रकम कोषमा मौज्दात थियो, त्यो सबै रकम र त्यसबाट प्राप्त ब्याज रकम यथावत् सोही कोषमा मौज्दात नै रहेको छ। सेवानिवृत्त भएपछि उल्लिखित दुवै कोषबाट अहिलेसम्म कुनै रकम झिकेको छैन। कानूनबमोजिम संस्थागत रूपमा जम्मा भएको रकम भएकाले सो सम्बन्धमा थप कुरा उल्लेख गरिरहन परेन। अहिलेसम्म आफ्नो सामान्य आवश्यकताअनुसारको खर्च निवृत्तिभरण रकम र आफ्ना अन्य केही सञ्चित रकमसमेतबाट व्यवस्थापन भइरहेको हुँदा पछि आवश्यकताअनुसार यथासमयमा कोषबाट उक्त रकम झिकिने नै छ।
२. सेवाबाट निवृत्त हुँदाको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४ मा रहेको प्रावधानबमोजिम सञ्चित घरबिदा र बिरामी बिदाबापतको रु. १५,६४,७९१।०० र औषधोपचार खर्चबापत १०,२०,५१६।०० गरी कुल रु. २५,८५,३०७।०० कानूनबमोजिम अदालतबाट भुक्तानी लिएको थिएँ। सो रकममध्येबाट रु. १७,८९,६१०।८८ भुक्तानी गरेर ‘सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४’ को दफा ७ बमोजिम एउटा सवारीसाधन प्राप्त गरेको छु। साविक बा.प्र.–०१-००२-झ, ५६६५ नं. को सो गाडी परिवर्तित निजी सवारी नं. बा. ०३० च ०५०६ कायम भई हालसम्म मेरो प्रयोगमा रहेको छ। बाँकी रकम बैङ्क खातामा दाखिला भई केही खर्च भएको र केही रकम बैङ्क खातामा मौज्दात रहेको छ।
३. सेवाबाट निवृत्त भएपछि बिमाबापत करिब दुई लाख रुपैयाँसमेत सम्बन्धित बिमा कम्पनीबाट भुक्तानी प्राप्त गरेको थिएँ।
९. अचल सम्पत्ति (घर) र सो घरले चर्चेको जग्गाको विवरण
श्रीमती प्रभा खतिवडाको नाममा काठमाडौँ म.न.पा. वडा नं. ४ विशालनगर, टुँडालदेवीमा कि.नं. १६६ को मिति २०५३ साल साउन १६ गते देशु राईबाट मूल्य रु. ४ लाखमा खरिद गरी लिएको ०-४-०-० जग्गामा कुल ८ वटा कोठा भएको अढाईतले घर रहेको छ। घर निर्माण हुँदाको तत्कालीन अवस्थामा कुल (बढीमा) रु. २० लाख रकम घरको निर्माण लागत परेको थियो।
(स्मरणीय छ: यो घर निर्माण हुँदाको समयमा (२०५४/०५५ सालमा) इँटाको प्रतिगोटा ३ रुपैयाँ, सिमेन्टको प्रतिबोरा करिब १७५ रुपैयाँ, फलाम (छड) को प्रतिकेजी २३ रुपैयाँ, गिटी/बालुवा प्रतिट्रक ३ हजार रुपैयाँ, टि.सि.एन. डिपोबाट काठको प्रतिक्युबिक फिट करिब ६ सय ५० रुपैयाँ र सोहीअनुसारको निर्माण ज्याला दर कायम थियो। तर पछि २०५९/०६० सालमा दुईवटा कोठाको तल्ला थप गर्दाको अवस्थामा भने उल्लिखित निर्माण सामग्रीको मूल्यमा केही बढोत्तरी भएको थियो।)
१०. जग्गा प्राप्ति र घर निर्माणसम्बन्धी थप विवरण
१. घर रहेको जग्गामा लिखत गरी लिँदाको अवस्थामा ३ फिटको बाटो थियो। त्यसबेला जग्गासम्म गाडी पुग्ने बाटो निकास थिएन। मोटर बाटो निकास पुर्याउनका लागि जग्गा आवश्यक परेकाले मेरा मित्र तथा जग्गाका सँधियार श्री नरेन्द्रप्रसाद पाठकबाट रु. ८,३००।– मूल्य कायम गरी साविक कि.नं. १११५ हालको कि.नं. २९६ को ०-०-१-२ (एक पैसा दुई दाम) जग्गा लिइएको छ। यो जग्गासमेत गर्दा घर रहेको जग्गाको कुल क्षेत्रफल ०-४-१-२ (चार आना एक पैसा दुई दाम) हुन आउँदछ।
२. घर निर्माणको मूल कार्य काठमाडौँ महानगरपालिकाबाट विधिवत् निर्माण स्वीकृति लिई/नक्सा पास गरी २०५४/०५५ सालमा गरिएको हो। पछि २०५९/०६० सालमा २ कोठाको तल्ला थप गरेपछि मिति २०६०/२/२७ मा निर्माण सम्पन्न प्रमाणपत्र पनि प्राप्त भएको छ।
११. जग्गा प्राप्ति र घर निर्माणको आयस्रोत
(१) कर्मचारी सञ्चय कोषबाट पटक-पटक गरी करिब २ लाखजति रकम (यकिन अङ्क सम्झना भएन, केही हजार रकम घटी वा बढी हुन सक्तछ) कोषमा सञ्चित रहेको रकममध्येबाट सापटी लिइएको थियो। यो रकम यही चार आना जग्गा खरिद र घर निर्माणसम्बन्धी काममा नै खर्च भएको थियो।
(२) घर निर्माण प्रयोजनका लागि २०५७ सालमा घरजग्गा धितो राखी कर्मचारी सञ्चय कोषबाट घर सापटी कार्यक्रमअन्तर्गत रु. ५ लाख ऋण सापटी लिएको थिएँ। सो रकम कर्मचारी सञ्चय कोषलाई क्रमशः किस्ताबन्दीमा भुक्तान गरियो।
(३) भक्तपुर जिल्ला, कौशलटारमा २०४३ सालमा श्री निर्मलकुमार ढुङ्गाना (निज पछि पुनरावेदन अदालतको न्यायाधीश पदबाट सेवानिवृत्त भएको) बाट रु. १०,०००।– मूल्यमा लिएको बाटो नजोडिएको ०-६-० जग्गा करिब ७ वर्षपछि श्रीमती ज्ञानु निरौलालाई बिक्री गरी प्राप्त भएको करिब १ लाख रुपैयाँ पनि यही घरजग्गामा नै परेको छ। अहिले २०८३ सालमा त्यही ६ आना जग्गाको मूल्य करिब २ करोड ५० लाखजति पर्दछ होला।
(४) मैले अंशबापत प्राप्त गरेको सुनसरी जिल्ला, चाँदबेला गा.वि.स. वडा नं. ९ (ग), कि.नं. ५२ को मेरा सहोदर दाजु अच्युतप्रसाद खतिवडाका नाउँबाट आएको ०-८-०-० (आठ कट्ठा) जग्गा (जमुवा तल्लो कित्ता भनिने जग्गा) बिक्री गरेको रकमसमेतबाट मेरा बुढा मावली (आमाका मामाका छोराहरू) रामहरि पोखरेल तथा कृष्णहरि पोखरेल परिवारबाट मूल्य रु. २ लाखमा २ कट्ठा जग्गा लिएको थिएँ। विराटनगर तीनटोलियास्थित (महेन्द्र मोरङ क्याम्पसभन्दा पूर्वतर्फ रहेको) जहदा मूल सडक छेउको त्यसबेला गा.वि.स., ज.क. वडा. १(ख), कि.नं. ३२८४ को ०-२-०-० (दुई कट्ठा) जग्गा बिक्री गरी आएको रु. ६ लाख रुपैयाँसमेत यही निर्माणको कार्यमा खर्च भएको छ। अहिले २०८३ सालमा त्यो २ कट्ठा जग्गाको मूल्य करिब एक करोडजति पर्दछ भन्ने बुझिएको छ।
(५) मैले कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढस्थित पञ्जाब विश्वविद्यालयमा एलएलएम तहमा अध्ययन गर्दाको दुई वर्ष अवधिमा प्राप्त गरेको छात्रवृत्तिमध्येको सञ्चित रकम र अध्ययन बिदा अवधिको तलब, भत्ताबाट सञ्चित केही रकमसमेत गरेर भक्तपुरको बालकोटस्थित (हाल काठमाडौँ स्कुल अफ ल रहेको स्थानको नजिकै) केशवराज खरेलबाट मिति २०४९/८/२८ मा रु. १,२५,०००।– मा खरिद गरी ०-६-२-० (छ आना दुई पैसा) जग्गा मेरी पत्नी प्रभा खतिवडाको नाममा प्राप्त गरेको थिएँ। सो जग्गा खरिद गरेको करिब ६/७ वर्षपछि रु. ६ लाखमा बिक्री गरियो। त्यो रकमसमेत घर निर्माण कार्यमा नै खर्च भएको छ। अहिले २०८३ सालमा त्यो जग्गाको प्रचलित मूल्य करिब ३ करोडजति रहेको बुझिएको छ।
(६) नागरिक लगानी कोषबाट २०५७ साल असार मसान्तसम्म जम्मा भएको सबै रकम झिकिएको थियो। यो रकम पनि खर्च भएको छ।
(७) घर निर्माण कार्यमा करिब २ लाख रकम पैतृक सम्पत्तिबाट प्राप्त आय रकम पनि परेको छ भन्ने सम्झना रहेको छ।
(८) खासगरी २०५३ सालदेखि सेवानिवृत्त हुँदाको अवस्थासम्म लगभग नियमित रूपमा नै मैले कानून, न्याय, अदालत व्यवस्थापन, मेलमिलाप, वन्यजन्तु संरक्षण तथा मानव अधिकारसम्बन्धी विभिन्न कार्यक्रमको सिलसिलामा स्रोतव्यक्ति (Resource Person)/मुख्य वक्ता (Key-note Speaker)/सभापति (Chair Person) जस्ता भूमिका पनि निर्वाह गर्ने गरेको थिएँ। यस प्रकारको काम करिब एक/डेढ सय पटकजति नै गरियो होला। मेरा दर्जनौँ लेखरचनाहरू पनि प्रकाशित भएका छन्। न्यायाधीश तथा अधिकृतहरूको क्षमता विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमहरूमा पनि प्रशिक्षकको हैसियतमा धेरै पटक भूमिका निर्वाह गरियो।
स्वभावतः यसरी बौद्धिक सेवा प्रदान गरेबापत अवस्थाअनुसार धेरथोर पारिश्रमिक पाइने र लिने गरिएको थियो। यस क्रममा सामान्यतयाः प्रतिकार्यक्रम रु. ५ हजार र यदाकदा कुनै-कुनै लेख तथा कार्यक्रमका सन्दर्भमा रु. २०/२५ हजारसम्मका रकम पारिश्रमिकको रूपमा प्राप्त हुने गरेको थियो। यसलाई सरदर वा सालाखाला रूपमा (मोटामोटी रूपमा) भन्ने हो भने करिब १५/१६ लाखको हाराहारीमा रकम आर्जित भएको थियो होला। त्यस्ता पारिश्रमिकको कानूनबमोजिम लाग्ने कर रकम स्रोतमै कट्टा गर्ने गरिएको पनि थियो। यस कुराको तिथि-मितिसहितको विस्तृत तथ्याङ्क मैले नराखेको र संस्मरणबाट पनि धेरै कुरा विस्मृतिमा गइसकेको हुँदा सबै विवरणको सूची यहाँ उल्लेख गर्न सम्भव भएन।
(९) घर निर्माणको क्रममा तत्काल आफ्नो आयस्रोत परिचालन हुन नसकेको अवस्थामा कतिपय साथीभाइ, इष्टमित्रहरूबाट सरसापटी लिएर घरको निर्माण कार्य गरेको थिएँ। यसरी लिएको सापटी रकम पछि आफ्नो स्रोत, सम्पत्तिको परिचालन वा व्यवस्थापन भएपछि फिर्ता भुक्तानी पनि गरियो। यही निर्माणको क्रममा एक पटक आफूसँग रहेको केही सुन पनि बिक्री गरिएको थियो।
(१०) विभिन्न कार्यक्रमको सिलसिलामा म पटक-पटक वैदेशिक भ्रमणमा गएको तथ्य माथि नै उल्लेख भइसकेको छ। यसरी भ्रमणमा गएको प्रत्येक पटक कार्यक्रमअनुसार धेरथोर आम्दानी भएकै थियो। माथि उल्लेख गरिएअनुसार वैदेशिक अध्ययन, अवलोकन, अन्तरक्रिया आदि विविध कार्यक्रमको सिलसिलामा भ्रमणमा जाँदाको क्रममा कम्तीमा २५ लाख र बढीमा ३० लाख रुपैयाँबराबरको कुल रकम आर्जन भएको थियो। त्यसमध्ये सरदर करिब ३० प्रतिशतको हाराहारीमा भ्रमण क्रममा खर्च भएको र बाँकी करिब ७० प्रतिशत रकम सञ्चित हुन पुगेको थियो।
(११) मैले पदीय हैसियतले कानूनबमोजिम नियमित रूपमा भुक्तानी पाउने तलब, भत्ता, भ्रमण भत्ता, बैठक भत्ता जस्ता रकम (आम्दानी) को यहाँ अङ्क समावेश गरिएको छैन। त्यही आम्दानीबाट पारिवारिक जीवनवृत्ति चलेको थियो। सार्वजनिक सेवाको पहिलो आधाभन्दा केही बढी अवधिमा आम्दानी र खर्चको अनुपातमा खासै धेरै अन्तर थिएन। त्यस अवधिमा कहिले केही मात्रामा सञ्चित हुन्थ्यो, कहिलेकहिले ऋणात्मक अवस्था पनि बन्ने गर्दथ्यो। पछिल्लो १७/१८ वर्षको सेवा अवधिमा भने छोराछोरीहरू पनि आत्मनिर्भर भइसकेका थिए, उनीहरूका लागि मैले खर्च दिनुनपर्ने अवस्था आयो। छोरा, छोरी र बुहारी नै मलाई आवश्यकताअनुसार भरथेग गर्न सक्ने र गर्ने भए। अर्कातर्फ मेरो पदीय हैसियत पनि क्रमशः माथिल्लो तहहरूमा हुन पुग्यो। यसपछि भने मैले नियमित रूपमा भुक्तानी पाउने तलब, भत्ता रकमबाट सञ्चितिको मात्रा पनि बढेको थियो।
(१२) उपरोक्तअनुसार मैले पदीय हैसियतले कानूनबमोजिम नियमित रूपमा भुक्तानी पाउने तलब, भत्ता जस्ता रकमबाहेक नै लगभग ५५/६० लाखको हाराहारीमा मेरो अतिरिक्त आम्दानी (आर्जन) भएको थियो। यो कुरा माथि उल्लेख गरिएको विवरणबाट पुष्टि हुन्छ। यही रकममध्येबाट नै चार आना एक पैसा दुई दाम जग्गा खरिद गरी घर निर्माण गर्नुका अतिरिक्त छोराछोरीको पढाइ खर्च र व्यावहारिक आवश्यकताअनुसारका अन्य खर्च गरिएको हो।
(१३) यस प्रकारबाट ०-४-१-२ (चार आना एक पैसा दुई दाम) जग्गा प्राप्त गरी अढाई तल्लाको केवल ८ कोठाको एउटा घर निर्माण गरेर गुजारा गरिआएको छु। यसलाई नै मैले करिब ४४ वर्षको सार्वजनिक सेवामा रहँदाको अवधिमा आर्जन गरेको एक मात्र सम्पत्ति भनी बुझ्न पनि सकिन्छ। अहिले २०८३ सालको मूल्यअनुसार करिब ६/७ करोड मूल्य पर्ने जग्गा यही घर निर्माणको प्रयोजनका लागि केही लाख रुपैयाँमा (वर्तमान अवस्थामा प्रचलित जग्गाको मूल्यका तुलनामा भन्ने हो भने “कौडीको दाममा”) बिक्री गरियो। त्यसबेला आवश्यकता थियो र पाएको दाममा आफ्नो सम्पत्ति आफ्नै इच्छाले बिक्री गरियो। समय-सन्दर्भ र व्यावहारिक आवश्यकताको कुरा हो। यसरी बिक्री गरेको कुरामा अहिले मलाई कुनै पछुतो पनि छैन।
१२. जग्गाको विवरण
१. मेरो नाममा सुनसरी जिल्ला, मधेसा ९ (ख) कि.नं. १३६८ मा ०-६-१५-०, मधेसा ९ (ख) कि.नं. १३६९ मा ०-८-०-० र मधेसा ९ (ख) कि.नं. २१३१ मा ०-४-६-० गरी कुल १९ कट्ठा १ धुर जग्गा रहेको छ। उक्त तीनवटा कित्ता जग्गा मैले अंशबापत तथा पिताजी तोयानाथ खतिवडा र कान्छो भाइ पुरुषोत्तम खतिवडाको शेषपछि अपुतालीको माध्यमबाट प्राप्त गरेको मध्येको पैतृक सम्पत्ति हो।
२. हाम्रा माता-पिताका हालसम्म जीवित रहेका हामी ५ जना दाजुभाइ र हाम्रा छोराछोरी तथा भतिजाभतिजीहरूले सामूहिक रूपमा योगदान गरेर हाम्रा पिता-माता “तोयानाथ र नर्मदादेवी” को नाममा ‘टि.एन. बहुमुखी क्याम्पस’, बलाहाको स्थापना गरेका छौँ। सो क्याम्पस स्थापना र सञ्चालनार्थ मैले अरू पनि केही योगदान गरेको छु। अन्य कुराहरूका अतिरिक्त मेरो नाममा दर्ता रहेको माथि उल्लिखित जग्गामध्येबाट २ कट्ठा जग्गा दानको रूपमा पारित गरेर दिने वचन पनि दिएको छु। सो दुई कट्ठा जग्गा हाल क्याम्पसको भोगचलनमै रहेको छ। यो दुई कट्ठा जग्गाको हाल २०८३ सालको प्रचलित मूल्य करिब ५० लाखजति रहेको बुझिन्छ। सो २ कट्ठा जग्गा अनुकूल समयमा रजिस्ट्रेसन पारित गरेर क्याम्पसलाई हक हस्तान्तरण गरिने नै छ। क्याम्पसको सुसञ्चालनका लागि हामीले प्रदान गरेको योगदान मात्र पर्याप्त थिएन। त्यसैले स्थानीय उदारमना समाजसेवीहरू, इनरुवा नगरपालिका लगायत त्रिभुवन विश्वविद्यालयसमेतबाट केही आर्थिक सहयोग लिइएको/प्राप्त भएको थियो। हाल यो क्याम्पस सञ्चालनमै रहेको छ।
३. मेरो नाममा रहेको उल्लिखित तीन कित्ता जग्गा हाल इनरुवा न.पा. क्षेत्रभित्र परेको छ। साविकमा राम्रो उब्जाबाली हुने यो उर्वर खेतीयोग्य जग्गा अहिले मूल्यवान् घडेरीको रूपमा परिणत भएको छ।
४. माथि उल्लेख गरिएअनुसारकी पत्नी प्रभा खतिवडाको नाममा रहेको अढाई तले कुल ८ वटा कोठा भएको का.न.पा.–४ विशालनगर, टुँडालदेवीस्थित एउटा घर र सो घर रहेको चार आना एक पैसा दुई दाम जग्गा तथा “माथि उल्लेख भएअनुसारको मेरो नाममा रहेको ३ कित्ता पैतृक सम्पत्ति (जग्गा)” बाहेक मेरो अरू कुनै जग्गा छैन। मेरो अर्को कुनै घर पनि छैन। जो भएको घरजग्गासम्बन्धी सम्पत्ति यति मात्रै हो।
१३. कृषि तथा पशुधन
मसँग दोपाया, चौपाया आदि कुनै पनि प्रकारको पशुधन छैन। न गाई-गोरु, न भैँसी-राँगा, न परेवा, न त कुखुरा, न कुकुर, न बिरालो; कुनै प्रकारका जीवजन्तु मसँग छैनन्। यस पाटोमा मैदान पूरै खाली छ। कृषिको हकमा, क्याम्पसको भोगचलनमा रहेकोबाहेक करिब १७ कट्ठा जग्गामा हुने दुईबाली उब्जाको स्वाभाविक आय भने प्राप्त हुने गरेको छ।
१४. उद्योग/व्यवसाय/साझेदारी/कम्पनीमा लगानीसम्बन्धी विवरण:
मिति २०७२/२/२९ मा अपर तामाकोसी हाइड्रोपावर लि. मा रु. ७,२००।– मूल्यको १०० दरका ७२ थान सेयर आफ्नो तलब भत्ता रकमबाट लगानी गरी लिएको छु। सो मूल्य रु. ७,२००।– को ७२ थान सेयरबाहेक मैले अरू कुनै पनि कम्पनीमा कुनै प्रकारको लगानी गरेको छैन। अरू कुनै उद्योग, व्यवसाय, साझेदारी वा कम्पनीमा पनि लगानी गरेको छैन।
१५. बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता र मौज्दातको विवरण:
संयोगवश ७/८ वटा सङ्ख्यामा बैङ्कमा खाता खोल्न पुगियो। प्रायः सबैजसो बैङ्क खाता सार्वजनिक सेवाका क्रममा तलब भत्ता भुक्तानीका लागि खोलिएका थिए। बैङ्क खाता खोलिएको सन्दर्भ, प्रयोजन र खातामा मौज्दात रकमसम्बन्धी विवरण निम्नानुसार रहेको छ:
(१) २०३५ सालमा प्रदर्शनी मार्ग, भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसमा अध्ययनको क्रममा मेरो नाममा राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार शाखा (हाल यसलाई पुतलीसडक शाखा भनिएको रहेछ) मा बचत खाता खोलिएको थियो। करिब २०६५ सालसम्म यो खाता लगभग नियमित रूपमा सञ्चालनमा रहेको थियो। त्यसपछि आफ्नो व्यावहारिक सुविधा र अनुकूलताको कारणबाट संयोगवश अन्य बैङ्कमा खाता सञ्चालन गर्न पुगिएकाले २०६५ सालपछि ज्यादै सीमित रूपमा मात्र यो खाता सञ्चालनमा रहेको छ। मेरो नामको सबैभन्दा पुरानो बैङ्क खाता भएकाले भावनात्मक सम्बन्धको कारणले यो खातालाई निरन्तरता दिइएको हो। हाल यो खातामा लगभग ४० हजार रुपैयाँजति रकम मौज्दात होला। यो रकमको स्रोत मेरो सेवाकालको पारिश्रमिक हो।
(२) पहिलेदेखि आफ्नो खाता सञ्चालनमा रहेको रा.वा. बैङ्क पुतलीसडकमा विदेशी मुद्रासम्बन्धी कारोबार गर्ने गरिएको रहेनछ। त्यसैले छोरी इभा बेलायत अध्ययनार्थ जाने सिलसिलामा पकेट खर्चको लागि विदेशी मुद्रामा बैङ्क ड्राफ्ट बनाउनेसमेत प्रयोजनका लागि आवश्यक भएर मेरो नाममा हिमालयन बैङ्क लि. महाराजगन्ज शाखामा २०६४ सालमा बचत खाता खोलिएको थियो। यो खाता अहिले खासै प्रयोगमा रहेको छैन। अहिले न्यूनतम मौज्दात (करिब ५/६ हजार रुपैयाँ) मात्र खातामा रहेको छ। तर अहिले यो खातासम्म जीवित रहेको छ।
(३) मेरो नाममा २०६५ सालमा नेपाल इन्भेस्टमेन्ट बैङ्क लि. पुल्चोक शाखामा बचत खाता खोलिएको थियो। त्यसबेला म कार्यरत रहेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट तलब भत्ता भुक्तानी गर्न यही बैङ्कमा खाता सञ्चालन गर्ने गरिएको थियो। त्यही कारणबाट यो खाता सञ्चालनमा ल्याउनुपरेको हो। हालसम्म यो खाता नियमित रूपमा सञ्चालनमा रहेको छ। हाल यो खातामा लगभग ३ लाख ५८ हजार रुपैयाँ मौज्दात रहेको छ। यो रकम मेरो पारिश्रमिक र निवृत्तिभरणमध्येको रकम हो।
(४) तत्कालीन पुनरावेदन अदालत बुटवलमा कार्यरत रहँदाको अवस्थामा मैले अदालतबाट पाउने पारिश्रमिक रकम भुक्तानी गर्ने प्रयोजनका लागि स्थानीय माछापुच्छ्रे बैङ्क लि. मा मेरो नाममा २०६८ सालमा बचत खाता खोलिएको थियो। यो खाता पछि पुनरावेदन अदालत राजविराजमा कार्यरत रहँदा २०७२ सालसम्म पारिश्रमिक रकम भुक्तानी प्राप्त गर्ने प्रयोजनका लागि प्रयोगमा रहेको थियो। त्यसपछि मलाई यो खाता सञ्चालन गर्नुपर्ने आवश्यकता नपरेकाले न्यूनतम मौज्दात (सम्भवतः २/३ सयजति रकम) बाँकी रहेको अवस्थामा विगत करिब १० वर्षदेखि यो खाता सञ्चालन गरिएको छैन। सम्भवतः अहिले यो खाता निष्क्रिय भइसकेको पनि होला। यो खातामा संस्थागत रूपमा प्रदान गरिने पारिश्रमिक रकम नै जम्मा हुने गरेको थियो।
(५) पुनरावेदन अदालत दिपायलमा कार्यरत रहँदाको अवस्थामा मैले अदालतबाट पाउने पारिश्रमिक रकम भुक्तानी गर्ने प्रयोजनका लागि दिपायलस्थित एनसिसि बैङ्क लि. मा बचत खाता खोलिएको थियो। दिपायलबाट मेरो स्थानान्तरण भएपछि यो खाता सञ्चालनको प्रयोजन रहेन। न्यूनतम मौज्दात (सम्भवतः २/३ सयजति रकम) बाँकी रहेको अवस्थामा विगत करिब ११ वर्षदेखि यो खाता सञ्चालन गरिएको छैन। अहिले यो खाता पनि निष्क्रिय भइसकेको होला। यो खातामा संस्थागत रूपमा प्रदान गरिने पारिश्रमिक रकम मात्र जम्मा हुने गरेको थियो।
(६) मेरो नाममा २०७३ सालमा खोलिएको (साविक) बैङ्क अफ काठमाण्डौ, (हाल) ग्लोबल आइएमई बैङ्क लि. सर्वोच्च अदालत शाखामा बचत खाता रहेको छ। मेरो कार्यस्थल सर्वोच्च अदालत रहेको अवस्थामा सो अदालतबाट तलब, भत्ता आदि रकम भुक्तानी गर्न यही बैङ्कको खाता प्रयोग गर्ने गरिएको थियो। पारिश्रमिक रकम भुक्तानी व्यवस्थाका कारणबाट यो खाता सञ्चालन गर्नुपरेको हो। अदालतबाट नियमित रूपमा भुक्तानी गरिएको रकमबाहेक अरू कुनै रकम यो खातामा थप गरी राखिएको थिएन, छैन। हालसम्म यो खाता सञ्चालनमै रहेको छ। यो खातामा अहिले लगभग १ लाख ३० हजार रुपैयाँ मौज्दात बाँकी रहेको छ। यो रकमको स्रोत पनि मेरो सेवाकालको पारिश्रमिक हो।
(७) म सेवाबाट निवृत्त भएपछि निवृत्तिभरण रकम भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैङ्क टङ्गाल शाखामा खोलिएको ‘पेन्सन अकाउन्ट’ (Pension Account) २०८० चैतदेखि सञ्चालनमा रहेको छ। यस खातामा २०८३ साल जेठ मसान्तसम्म मैले निवृत्तिभरणबापत भुक्तानी पाएको रकममध्ये अधिकांश रकम आफ्नो व्यावहारिक आवश्यकताअनुसार समय-समयमा झिकेर खर्च गरिएको छ। खर्च हुनबाट जोगिएको केही रकम अहिले सोही खातामा मौज्दात रहेको छ।
(ज्ञातव्य छ: यो पेन्सन अकाउन्टमा राज्यको तर्फबाट प्रदान गरिएको पेन्सन रकमबाहेक अरू कुनै रकम जम्मा गर्न वा राख्न मिल्ने रहेनछ।)
(८) नगदको हकमा करिब ३५/४० हजार रुपैयाँजति दैनिक व्यवहारको लागि मसँग नगद रहेको छ। विदेशी मुद्राको हकमा म विदेश भ्रमणमा जाने सिलसिलामा कानूनबमोजिम बैङ्कबाट सटही गरेर लगेको रकममध्ये केही सामान्य वा सीमित रकम खर्च नभई आफैँसँग बाँकी रहन पुगेको छ। यो विदेशी मुद्रामा रहेको रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार आफूसँग राख्न पाउने रकमको सीमाभन्दा बढी छैन।
(९) श्रीमती प्रभा खतिवडाको नाममा राष्ट्रिय वाणिज्य बैङ्क टङ्गाल शाखामा बचत खाता रहेको छ। यस खातामा अहिले करिब ५ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको बुझेको छु। यो रकम निज प्रभा खतिवडाको “स्त्री-धन” को परिभाषाभित्र पर्ने निजको निजी सञ्चितिको रकम हो।
(१०) प्रभा खतिवडाको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, बालुवाटार शाखामा पनि बचत खाता रहेको छ। यस खातामा अहिले करिब ८ लाख रुपैयाँ मौज्दात रहेको बुझेको छु। यो रकममा मैले सेवानिवृत्त हुँदा सञ्चित बिदा रकम र औषधोपचारबापत पाएको रु. २५,८५,३०७।०० मध्येको ५ लाख रकम पनि समावेश छ। अरू करिब ३ लाख रकम निज प्रभाको निजी सञ्चिति रकम हो।
१६. सेयर, ऋणपत्र, बचतपत्रसम्बन्धी विवरण
अपर तामाकोसी हाइड्रोपावर लि. को ७,२०० मूल्यको ७२ थान सेयर खरिद गरिएको छ। यसको विवरण माथि पनि उल्लेख भइसकेको छ। सोबाहेक मैले अन्य कुनै प्रकारको सेयर वा ऋणपत्र वा बचतपत्र लिएको वा राखेको छैन।
१७. विदेशस्थित बैङ्क वा वित्तीय संस्थामा खाता खोलिएको र सञ्चितिसम्बन्धमा
पञ्जाब विश्वविद्यालय, चण्डीगढ भारतमा अध्ययनको क्रममा प्राप्त हुने छात्रवृत्ति रकम भुक्तानीको लागि विश्वविद्यालय परिसरभित्र रहेको स्थानीय बैङ्कमा बचत खाता खोलिएको थियो। सन् १९९२ मा अध्ययन पूरा गरेर स्वदेश फर्कनुअगाडि उक्त खाता पनि बन्द गरियो। यसैगरी सन् २००४/२००५ मा अनुसन्धान प्रयोजनका लागि डेनिस इन्स्टिच्युट फर ह्युमन राइट्स, कोपेनहेगन (डेनमार्क) मा रहेको अवस्थामा छात्रवृत्ति रकम भुक्तानी प्रयोजनका लागि स्थानीय बैङ्कमा खाता खोलिएको थियो। अनुसन्धानको कार्य सकेर स्वदेश फर्कनुअगाडि उक्त खाता पनि बन्द गरियो। उल्लिखित छात्रवृत्ति खाताबाहेक कुनै पनि विदेशस्थित बैङ्क वा वित्तीय संस्थामा मैले कुनै पनि प्रकारको खाता खोलेको छैन, कहीँ कतै कुनै रकम मौज्दात रहेको वा राखेको छैन।
१८. परिवारका सदस्यहरूको आम्दानी र खर्च सम्बन्धमा
१. छोरा अपूर्व खतिवडा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसमा उपप्राध्यापकको रूपमा कार्यरत छ र त्रि.वि.वि. को नियमानुसार पारिश्रमिक प्राप्त गर्दछ। यसका अतिरिक्त एउटा व्यस्त कानून व्यवसायीको हैसियतले पनि पेसामा सक्रिय रूपमा संलग्न रहेको छ। स्वभावतः यो पेसाबाट पनि अपूर्वको आम्दानी भएकै हुनुपर्दछ। तर निजको सबै आम्दानी र खर्चको यकिन जानकारी मलाई छैन।
उसले त्रि.वि.वि. को उपप्राध्यापकको हैसियतमा हरेक वर्ष कानूनबमोजिम आफ्नो सम्पत्ति विवरण पेस गर्ने गरेको भन्ने कुरासम्म मेरो जानकारीमा छ। तर निजले पेस गरेको विवरणको अन्तर्वस्तु भने मेरो जानकारीमा छैन।
२. उमेर पुगेको (वयस्क) छोरा अपूर्वको आम्दानी खर्चको हरहिसाब मसँग रहने कुरा होइन। हरेक व्यक्तिमा आ-आफ्नो वैयक्तिक प्रतिष्ठा, स्वतन्त्रता र गोपनीयताको हक रहन्छ। आधुनिक युगमा प्राविधिक रूपमा एकाघर सगोलमा रहेबसेको भए पनि कतिपय निजी र वैयक्तिक कुराहरू परिवारका अन्य सदस्यहरूलाई जानकारी दिइरहनु आवश्यक हुँदैन। परिवारका कुनै सदस्यले गरेको कार्यको दुष्परिणाम वा सजाय सोही परिवारका अन्य सदस्यले भोग्नुपर्ने कुरा इतिहासका विषय मात्रै हुन्।
“परिवार” शब्दको पुरातन शैलीको अव्यावहारिक बुझाइ र परिभाषाले आधुनिक खुला समाजको मूल्यमान्यतालाई वस्तुपरक रूपमा सम्बोधन गर्न सक्तैन भन्ने मलाई लाग्दछ। सार्वजनिक जवाफदेहिताको पदमा रहेका कुनै पनि व्यक्तिको यदि अवैध रूपमा आर्जन गरिएको सम्पत्ति नातासम्बन्धी मानिसलगायत अरू जोसुकै व्यक्तिको नाममा राखिएको भए पनि राज्यले सो कुरा कानुनी प्रक्रियाबाट पत्ता लगाउनुपर्दछ र न्यायको दायरामा ल्याउनु नै पर्दछ।
तर “परिवार” शब्दको पुरातन शैलीको “विस्तारित प्रयोग” गरेर राज्यले प्रमाणित गर्नुगराउनुपर्ने यो जिम्मेवारी (प्रकारान्तरले, अनुचित रूपमा) कुनै व्यक्तिको वैयक्तिक प्रतिष्ठा प्रतिकूल हुने र वैयक्तिक गोपनीयताको हकमा असर पर्ने गरी निरोपित गर्नु उचित हुँदैन भन्ने म ठान्दछु।
३. अहिले हामी दम्पती तथा छोरा र बुहारी गरी ४ जनाको भातभान्सा सामूहिक भए पनि आम्दानी खर्चको कुरामा आफ्नोआफ्नो स्वेच्छामा नै गर्ने गरिएको छ। सामान्य घरायसी व्यवहारको कुरामा मौका-परिस्थितिअनुसार परिवारका सबैको खर्च हुने नै भयो। सेवाबाट निवृत्त भएपछि हामी दम्पतीले गरेका केही वैदेशिक भ्रमणहरूका लागि छोरा अपूर्वले नै यातायात खर्च तथा होटल बास खर्च जुटाइदिएको पनि थियो। अहिलेसम्म अवश्य नै हामी परिवारका सदस्यहरूबिच भावनात्मक सद्भाव र समझदारी कायम छ। तर मैले अहिलेसम्म छोराको आम्दानी खर्चको हरहिसाब लिएको वा खोजेको वा राखेको छैन।
अपूर्व विगत १६/१७ वर्षदेखि आफ्नै निजी ल फर्म (Law Firm) खोलेर कानून व्यवसायमा संलग्न छ। तर मैले आजपर्यन्त उसको ल फर्म देखेको छैन। छोराको काम र गतिविधि हेर्ने रहर प्रायः सबै बाबु-आमालाई हुन्छ होला, मलाई पनि छ। तर मैले अपूर्वको ल फर्म हेर्नेसम्मको कुरामा पनि रुचि राखिनँ। मेरो न्यायिक पृष्ठभूमि रहेको कारणबाट अपूर्वको व्यावसायिक कार्यस्थलमा मेरो उपस्थितिले अन्यथा अर्थ लगाउने अवस्था पैदा नहोस् र बिल्कुल स्वतन्त्र रूपले उसले आफ्नो व्यक्तित्व विकास गरोस् भन्ने अभिप्रायले मैले निजको ल फर्म हेर्ने कुरामा रुचि नराखेको हो। उपरोक्त पृष्ठभूमिमा “मेरो कुनै आम्दानी छोरा अपूर्वलाई राख्न दिएको वा निजका नाउँमा राखेको छैन” भनी स्वघोषणा गर्नु नै मेरो हकमा पर्याप्त छ भन्ने ठान्दछु।
४. बुहारी सुदेश्ना थापा (खतिवडा) ‘द एसिया फाउन्डेसन’ मा वरिष्ठ अनुसन्धान तथा ज्ञान व्यवस्थापन विशेषज्ञका रूपमा कार्यरत रहेकी छन्। बुहारीको आम्दानी के कति छ ? खर्च के कुरामा कसरी गरेकी छन् ? सञ्चिति रकम कति छ ? भन्ने कुराको मैले अहिलेसम्म कहिल्यै खोजी गरेको वा चासो राखेको छैन। निज एक राम्रो आर्थिक हैसियत भएका परिवारकी एक मात्र छोरी भएकी र आफैँ पनि आयआर्जन हुने पेसामा संलग्न रहेकी हुँदा निजसँग अवश्य नै केही सम्पत्ति हुनु स्वाभाविक छ। तर आधुनिक खुला समाजमा वैयक्तिक प्रतिष्ठा र गोपनीयताको विषय जोडिएको यस प्रकारको कामकुरामा मैले चासो राख्नु शोभनीय ठानेको छैन। मैले स्वघोषणा गर्ने कुरा के मात्रै हो भने, मेरो कुनै आम्दानी पनि निजलाई राख्न दिएको वा निजका नाउँमा राखेको छैन। यस प्रसङ्गमा मैले भन्न सक्ने कुरा यति नै हो।
५. मेरो छोरा अपूर्व खतिवडा र बुहारी सुदेश्ना थापा (खतिवडा) को नाममा पनि अवश्य नै बैङ्कमा खाता सञ्चालनमा रहेका होलान्। उनीहरूको कारोबार-व्यवहारको कुराको यथार्थ जानकारी मलाई छैन। माथि नै उल्लेख भएअनुसार यो उनीहरूकै वैयक्तिक स्वतन्त्रतासम्बन्धित निजी कुरा हो। मैले उनीहरूको नाममा आफ्नो कुनै पनि प्रकारको आर्जित रकम राख्न दिएको छैन भनी घोषित गर्नु नै मेरो हकमा पर्याप्त छ। उनीहरूको व्यवहार निश्चित रूपमा निष्ठा र सदाचारयुक्त नै छ भन्ने कुरामा मेरो पूर्ण विश्वास र भरोसा रहेको छ। उनीहरूको नितान्त निजी आम्दानी, खर्च र वैयक्तिक व्यवहारको कुरामा म जवाफदेही हुने कुरा पनि होइन।
६. मेरी छोरी इभाले बेलायतबाट चार्टर्ड एकाउन्टेन्सी कोर्ष (Chartered Accountancy Course) पूरा गरेकी छिन्। अध्ययनको क्रममा इभाले ‘पार्ट टाइम जब’ (Part Time Job) गरेर खर्च जुटाउने काम पनि गर्ने गरेकी थिइन्। अहिले छोरी इभा एगको (AGCO) नामको ‘फर्च्युन ५००’ (Fortune 500) सूचीमा समावेश रहेको ठुलो बहुराष्ट्रिय अमेरिकी कर्पोरेसन (U.S. Corporation) मा ‘ग्लोबल कन्ट्रोलर, सप्लाई चेन’ (Global Controller, Supply Chain) सम्बन्धी काम हेर्ने ‘सिनियर डाइरेक्टर’ (Senior Director) को हैसियतमा कार्यरत रहेकी छिन्। वेक फरेस्ट युनिभर्सिटी (Wake Forest University) बाट बायोमेडिकल (Biomedical) विषयमा स्नातकोत्तर गर्नुभएका ज्वाइँ असिम उप्रेती फाइजर फर्मास्युटिकल्स (Pfizer pharmaceuticals, McPherson, Kansas) मा सिनियर म्यानेजर/डिजिटल लिडर (Senior Manager / Digital Leader) को हैसियतमा कार्यरत हुनुहुन्छ। छोरी र ज्वाइँको आयआर्जन अपेक्षाकृत राम्रै छ भन्ने मलाई लाग्दछ। उनीहरूको आम्दानी र खर्चको विस्तृत विवरण मेरो जानकारीमा रहने वा राख्ने कुरा मनासिब र व्यावहारिक पनि छैन। उनीहरूको जे-जो आम्दानी छ, त्यो उनीहरूसँगै छ। मैले स्वघोषणा गर्ने कुरा के मात्रै हो भने, मेरो कुनै पनि आम्दानी निजहरूलाई दिएको वा निजहरूका नाउँमा राखेको छैन।
१९. सुन, चाँदी, अन्य बहुमूल्य जवाहरातको विवरण
(१) सुन, चाँदी जस्ता धातु लगाउने कुरामा मलाई कहिल्यै आकर्षण भएन। यसलाई म जीवनको अनावश्यक भार भन्ने सम्झन्छु र यस्ता कुरा धारण गर्दा आफ्नो जीवनमा कुरूपता थपिएको महसुस गर्दछु। केही सामाजिक व्यवहारहरूका सन्दर्भमा मलाई सुनका सामान्य परिमाणका केही औँठी, केही सिक्री जस्ता वस्तु शिष्टाचारको रूपमा उपहारस्वरूप प्राप्त भएका थिए। तर त्यसलाई मैले धारण गरिनँ।
सुन-चाँदीलाई म एक प्रकारको भार भन्ने सम्झन्छु। धेरथोर मात्रा जति भए पनि सुन-चाँदीको भार वहन गर्ने क्षमता सम्भवतः मसँग छैन होला। त्यसैले आफूलाई उपहारको रूपमा प्राप्त भएका गहनाजन्य कुराहरू तत्काल श्रीमतीको जिम्मा लगाएर भारबाट मुक्त हुने गरेको थिएँ। मैले राज्यबाट पाएका “सुप्रबल गोरखादक्षिणबाहु”, “प्रसिद्ध प्रबल जनसेवा श्री” आदि विभूषणहरू पनि एक प्रकारले गहना हुन् भन्ने ठान्दछु। तर यसलाई भने आफैँसँग सुरक्षित राखेको छु। संस्थागत रूपमा दिइएका चाँदीका अन्य केही पदकहरू पनि मसँग छन्। सोबाहेक अहिले मसँग सुन, चाँदी, हिरा-जवाहरात केही पनि छैन।
(२) मसँग २/४ वटा घडीहरू छन्। तर अहिले करिब २० वर्ष भयो, घडी लगाउने गरेको छैन। पहिले २० वर्षभन्दा अगाडि घडी लगाउने गर्दथेँ। मोबाइलको प्रयोग गर्न थालेपछि घडीको आवश्यकता रहेन। मैले कुनै चिज धारण वा प्रयोग गर्दा आवश्यकता भए मात्र धारण गर्ने गरेको छु। राम्रो देखिने वा कुनै कृत्रिम प्रतिष्ठा आर्जन गर्ने जस्ता कुराका दृष्टिले सुनका औँठी-सिक्री, चाँदीका कुनै सामान, घडी वा अरू यस्तै कुराहरू लगाउने कुरामा मलाई आकर्षण भएन। त्यसैले यस्ता धातु सङ्कलन गर्ने कुरामा पनि रुचि पैदा भएन।
(३) अहिले श्रीमती प्रभा खतिवडासँग करिब १५ तोलाजति सुनका गरगहनाहरू छन्। यो मोटामोटी रूपमा उल्लेख गरिएको परिमाण हो। पुराना गरगहनाको तौल नगरिएको हुँदा यो परिमाणमा केही सामान्य (केही आना) फरक पर्न पनि सक्तछ।
(४) उल्लिखित सुनका गरगहनाहरूमध्ये केही पैतृक, केही विवाह जस्ता सामाजिक कार्यका सिलसिलामा हामी दम्पतीलाई प्राप्त भएको र केही खरिद गरेको हो। यसको प्राप्तिको कतिपय तिथि-मिति संस्मरणमा नरहेकाले अहिले खुलाउन सम्भव र व्यावहारिक छैन।
(५) सुनको माथि खुलाइएको परिमाणमा छोराबुहारीको सुन-चाँदीको विवरण समावेश छैन। यस विषयमा मलाई कुनै जानकारी पनि छैन। बुहारीको गरगहना सम्बन्धमा मैले चासो राखेर हिसाब खोज्नु पनि मनासिब हुँदैन। विवाहको सिलसिलामा गरिएको सामान्य व्यवहारबाहेक मैले छोराबुहारीलाई कुनै सुन-चाँदी राख्न दिएको छैन।
(६) चाँदीका गाग्री, खड्कुलोलगायतका भाँडावर्तन करिब दुई किलोजतिको होला। यो केही पैतृक, केही विवाह जस्ता सामाजिक कार्यका सिलसिलामा प्राप्त भएको र केही श्रीमतीले खरिद गरेको हो। विभिन्न समयमा सामाजिक व्यवहारको सिलसिलामा प्राप्त भएको हुँदा अहिले ती सबै प्राप्तिको तिथि-मिति खुलाउन सकिने अवस्था छैन। चाँदीका उल्लिखित सामान पनि श्रीमती प्रभा खतिवडाको “स्त्री-धन” अन्तर्गतको सम्पत्ति हो भनी मैले ठान्ने गरेको छु।
२०. सवारीसाधनको विवरण
मेरो नाममा हुन्डाई ग्रान्ड आई-टेन (GRAND i10 Hyundai Car) रहेको छ। साविक बा.प्र.–०१-००२ झ ५६६५ नं. को सो गाडी परिवर्तित नं. बा. ०१०३० च ०५०६ कायम भएको छ। हालसम्म मेरो आफ्नै प्रयोगमा रहेको यो सवारीसाधन ‘सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४’ को दफा ७ बमोजिम प्राप्त गरेको हो।
सर्वोच्च अदालत प्रशासनको मिति २०८०/११/१८ को निर्णयअनुसार यातायात व्यवस्था कार्यालय, बागमती प्रदेश, ललितपुरबाट मिति २०८०/१२/२७ मा सो सवारीसाधन मेरो नाममा नामसारी भई आएको छ। सेवाबाट निवृत्त हुँदाको अवस्थामा सञ्चित घरबिदा तथा बिरामी बिदाबापत तथा औषधोपचारबापत रु. २५,८५,३०७।०० कानूनबमोजिम अदालतबाट भुक्तानी लिएको थिएँ। सो रकममध्येबाट रु. १७,८९,६१०।८८ उल्लिखित ‘च ०५०६’ नं. को सेकेन्ड ह्यान्ड (Second hand) गाडीबापत रकम भुक्तानी गरेको थिएँ।
२१. यान्त्रिक तथा विद्युतीय उपकरणसम्बन्धी विवरण
मसँग १६ प्लस आइफोन (16Plus iPhone) एक थान, सामसुङ कम्पनी (Samsung Company) द्वारा उत्पादित मोबाइल एक थान, लेनोभो थिङ्क प्याड (Lenovo Think Pad) ल्यापटप एउटा र करिब २० वर्षअगाडि लिएको एउटा पुरानो (हाल प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको) ल्यापटप रहेको छ। १६ प्लस आइफोन र लेनोभो थिङ्क प्याड ल्यापटप मेरी छोरी इभाले अमेरिकामा नै खरिद गरी मलाई उपहारस्वरूप पठाइदिएकी हो। प्रिन्टर (Printer), वासिङ मेसिन (Washing Machine) जस्ता अरू पनि घरेलु प्रयोजनका केही सामानहरू घरमा रहेका छन्। यो दैनिक प्रयोगका अत्यावश्यक सामान भएकाले यस सम्बन्धमा थप कुरा उल्लेख गरिरहनुपरेन। सामान्य दैनिक प्रयोगका यान्त्रिक सामानबाहेक मसँग अरू कुनै विशेष उल्लेखनीय यान्त्रिक तथा विद्युतीय उपकरण छैनन्।
२२. ऋण लिएको वा दिएको विवरण
पहिले (खासगरी) घर निर्माणको अवस्थामा आवश्यकताअनुसार संस्थागत रूपमा र व्यक्तिगत तवरबाट पनि ऋण/सापटी लिइएको थियो। त्यो व्यवहार क्रमशः अनुकूलताअनुसार मिलाइयो। तर आजको अवस्थामा मैले कसैबाट कुनै व्यक्तिगत वा संस्थागत रूपमा ऋण लिएको छैन। मैले कोही कसैलाई कुनै ऋण दिएको पनि छैन। कसैसँग कुनै रकम लिनु पनि छैन, कसैलाई कुनै रकम दिनु पनि छैन। अहिले म अऋणी छु।
२३. अन्य सम्पत्तिको विवरण
मसँग मेरा स्वाभाविक दैनिक आवश्यकता पूर्तिका लागि आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडालगायतका घरेलु प्रयोगका आधारभूत सरसामानहरू अवश्य नै छन्। सोबाहेक यहाँ उल्लेखनीय अन्य कुनै सम्पत्ति छैन।
२४. अन्त्यमा
यसरी माथिका विभिन्न प्रकरणहरूमा उल्लेख गरिएअनुसार करिब ४४ वर्ष मैले सार्वजनिक सेवा गरेको थिएँ। करिब ३० वर्ष विभिन्न तहका अदालतको न्यायाधीशको हैसियतले न्यायिक सेवामा संलग्न रहेँ। पटक-पटक विदेश भ्रमण पनि गरियो। बौद्धिक तथा शैक्षिक उन्नयनका लागि पनि स्रोतव्यक्तिको हैसियतले पटक-पटक बौद्धिक सेवा प्रदान गर्ने काम पनि गरियो।
केही पैतृक सम्पत्ति पनि परिचालन गरियो। यसरी मेरा वैध आयस्रोत विभिन्न किसिमका थिए। मैले आफ्नो जीवनकालमा आर्जन गरेको अचल सम्पत्ति भनेकै का.म.न.पा.–४ विशालनगर, टुँडालदेवीस्थित चार आना एक पैसा दुई दाम जग्गा र कुल ८ वटा कोठा भएको अढाईतले एउटा घर मात्रै हो।
हालसम्म म सरल र एकसरो जीवन बाँचेको छु। तडकभडक गर्ने रहर जीवनमा कहिल्यै पैदा भएन। जीवनशैली सरल र मितव्ययी किसिमको बन्न गयो। म बाँचेको समाजका कतिपय मानिसलाई अनौठो र अस्वाभाविक लाग्न सक्ने तर आफ्नो जीवनका वास्तविक र सरल जीवनशैलीका केही प्रतिनिधिमूलक दृष्टान्त पनि म यहाँ उल्लेख गर्न चाहन्छु:
(१) मेरो जीवनशैली र जीवनवृत्ति सादा, सरल र मितव्ययी किसिमको रहँदै आएको छ। दैनिक प्रयोगका सामान्य किसिमका सामानहरू पनि अपेक्षाकृत धेरै लामो अवधिसम्म संरक्षित र मेरो नियमित प्रयोगमा रहने गरेका छन्। कुनै पनि चिज, वस्तु वा सामानको सम्भव भएसम्म अधिकतम उपयोग गर्ने उपयोगितावादी किसिमको मेरो जीवनशैली बनेको छ। चाहे दारी काट्ने मेसिन र ब्रस होस् अथवा जुत्ता, टोपी, कोट, पाइन्ट जस्ता दैनिक प्रयोगका सामानहरू नै किन नहोऊन्– त्यसको अधिकतम उपयोग/सदुपयोग गर्ने मेरो आदत रहँदै आएको छ। मेरो हकमा त्यस्ता नियमित प्रयोगका सामानहरू अरू सार्वजनिक जिम्मेवारीमा रहेका प्रायः मानिसहरूको तुलनामा कम्तीमा पनि दुई/तीन गुणा बढी अवधि टिकाउ हुने गरेको होला भन्ने म ठान्दछु।
(२) सार्वजनिक जीवनमा पनि मैले तडकभडकको मार्ग रोजिनँ। सामान्य नागरिक जीवनशैली नै मेरो रुचि र प्राथमिकताको विषय बन्यो। म न्यायाधीश पदमा बहाल रहँदाको अवस्थामा मातहत अदालतहरूको निरीक्षणलगायतका कामका सिलसिलामा कुनै उच्च अदालत वा जिल्ला अदालतमा जाँदा खादा, मालासहित लामबद्ध भएर स्वागत गर्ने र “पिर्के सलामी” दिने प्रचलन रहेको थियो। अहिलेसम्म पनि यो चलन कायम रहेको भन्ने बुझेको छु। तर मलाई त्यो प्रचलन राणाकालीन सैनिक दर्जाका लप्टन (उनले न्यायाधीशको हैसियतले पनि कार्य गर्दथे) लाई सलामी दिने गरिएको कुराको विरासत हो भन्ने लाग्यो। त्यस कुरामा मैले नागरिक जीवन देखिनँ।
पुनरावेदन अदालतको न्यायाधीश भएको सुरुसुरुका दिनमा, संयोगले, म आफैँ पनि त्यस प्रकारका स्वागतका झाँकीहरूको बिचमा पुगेको थिएँ। पछिका दिनमा क्रमशः यो सिलसिलालाई छल्ने, टार्ने बाटो खोज्न थालेँ। सर्वोच्च अदालतको न्यायाधीश भएपछि भने यो प्रचलनलाई बन्द गर्न नीतिगत निर्णयका लागि मैले सर्वोच्च अदालतको फुलकोर्टमा कुरा उठाएको पनि थिएँ। त्यसबेला यस विषयमा मेरो र अन्य २/३ जना सहकर्मीहरूको धारणा मिलेको पनि थियो। अन्य २/३ जना सहकर्मीहरूले मधुरो स्वरमा उल्लिखित कुरामा सहमति जनाएका पनि थिए। तर अरू कतिपय स्वनामधन्यहरूको लागि त्यही स्वागतशैलीप्रति आकर्षण र मोह कायम रहेछ।
अधिकांश सहकर्मीहरूले मेरो प्रस्तावलाई स्वीकार गर्न अनिच्छा देखाएको कारणबाट यस विषयमा नीतिगत निर्णय हुन सकेन। तथापि, मसहितका हामी २/३ जनाले भने आफूले कुनै ठाउँमा भ्रमण गर्नुपूर्व नै सम्बन्धित अदालतहरूमा खादा, माला र “पिर्के सलामी” निषेध गर्नू भनेर सन्देश पठाउने गरेका थियौँ। परिणामतः केही अनपेक्षित अपवाद व्यहोर्नुपरेको बाहेक हाम्रा हकमा राणाकालीन फौजी शैलीको यो “पिर्के सलामीको विरासत” धेरै हदमा रोकिएको वा हटेको थियो।
(३) प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा हामीले २०७८ साल असार २८ गते फैसला गरेपछि गठन भएको सरकारको तर्फबाट हामी सो फैसला गर्ने कार्यमा संलग्न न्यायाधीशहरूलाई विभूषण दिने प्रस्ताव अगाडि सारिएको र हाम्रो सहमतिको लागि हामीसँग अनौपचारिक रूपमा प्रस्ताव गरिएको पनि थियो। त्यस प्रकारको प्रस्तावलाई मैले तत्काल अस्वीकार गरेको थिएँ। सामान्यतयाः राज्यबाट प्रदान गरिने सम्मान, विभूषण न्यायाधीशले पनि ग्रहण गर्न हुन्छ भन्ने नै मान्यता मैले राख्ने गरेको छु।
पहिले-पहिले मैले विभूषणहरू ग्रहण गरेको पनि थिएँ। तर २०७८ सालमा भने खास विवादमा गरिएको निर्णयलाई लक्षित गरेर विभूषण प्रदान गर्न लागिएको भन्ने ठानेर न्यायिक मूल्यमान्यताप्रतिको निष्ठा र सजगताकै कारणले त्यसबेला विभूषण लिने कुरा अस्वीकार गरियो। विभूषण प्रदान गर्ने उल्लिखित प्रस्ताव राष्ट्रका लागि गरेको सेवा वा योगदानको कदर गरेर सम्मानस्वरूप प्रदान गर्न लागिएको नभएर पारितोषिकको रूपमा दिन खोजिएको भन्ने पनि मलाई त्यसबेला लागेको थियो। प्रस्तावमा असहमति जनाएको परिणामस्वरुप त्यसबेला २०७८ साल असार २८ मा प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्ने हामी कसैलाई पनि विभूषण प्रदान गरिएन। अरू समयमा विभूषण प्रदान गरिएको हुन्थ्यो भने रमाइलो नै ठानिन्थ्यो होला। तर २०७८ सालमा भने विभूषण प्रदान नगरिएको कुरालाई नै सुखद परिस्थिति ठानियो।
(४) सन् २०१८ को डिसेम्बरमा मेक्सिको (कान्कुन) मा ‘इलेक्टोरल जस्टिस’ सम्बन्धी औपचारिक कार्यक्रमका सिलसिलामा जाँदा मसँग कूटनीतिक पासपोर्ट थियो। मेक्सिको जान अमेरिकाको रुट परेको र त्यहाँ छोरी इभासमेत रहेको कारणबाट यात्राको क्रममा अमेरिकामा बस्न केही दिनका लागि आफ्नो पाकेको बिदासमेत स्वीकृत गराएर गएको थिएँ। यसरी अमेरिका जाँदा र त्यहाँ बसेको करिब एक हप्ता अवधि (निजी भ्रमणको अवधि) मा मैले रातो पासपोर्ट प्रयोग नै गरिनँ।
नेपालबाट प्रस्थान गर्दादेखि अमेरिकामा रहुन्जेल (निजी भ्रमणको अवधिमा) सामान्य पासपोर्ट नै प्रयोग गरेको थिएँ। अमेरिकाबाट मेक्सिको जाँदाको अवस्थादेखि स्वदेश फर्कंदासम्म मात्र रातो पासपोर्ट प्रयोग गरियो। यो कुरा पनि सरकारी सुविधाको दुरुपयोग गरिनु हुँदैन भनी मैले राख्ने गरेको मान्यताको एउटा उदाहरण हुन सक्तछ। मेरो त्यस प्रकारको व्यवहारको कुरालाई लिएर मेरा कुनै मित्रले “यो त अति भयो” भनेको कुराको स्मरण मलाई अहिले पनि छ। मित्रले “अति भयो” भनी ठानेको त्यही कुरालाई मैले भने “आवश्यक र वाञ्छित कुरा” ठानेको थिएँ।
(५) म सेवानिवृत्त भएको करिब एक/डेढ वर्षपछि नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय गरिएअनुसार सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशहरूलाई ५ वर्षका लागि निजी सुरक्षाकर्मी (P.S.O.) उपलब्ध गराइएको थियो। मेरा लागि पनि त्यसरी सुरक्षाकर्मी खटाइएको र केही महिना निज सुरक्षाकर्मी मसँग रहेका पनि हुन्। तर, सेवानिवृत्त भएर निजी जीवनमा बसेको व्यक्तिले राज्यकोषबाट तलब भत्ता खाने सीमित सङ्ख्यामा रहेका प्रहरी अधिकृतहरूलाई आफूसँग राखिरहनु अनुचित कुरा हो भन्ने मलाई लाग्यो। यसलाई राज्यको स्रोतसाधनको दुरुपयोग हो भन्ने मैले ठानेँ।
विगतमा जुनसुकै तह वा पदमा पुगेको व्यक्ति भए पनि वर्तमान अवस्थामा कुनै सार्वजनिक जिम्मेवारीमा नरहेका जुनसुकै व्यक्तिले पनि आमनागरिकसरह सामान्य जीवन निर्वाह गर्नुपर्दछ भन्ने मेरो दृष्टिकोण रहँदै आएको छ। त्यसैले मैले आफ्नो स्वेच्छाले नै मलाई प्रदान गरिएको सुरक्षा अधिकृतलाई करिब १० महिनापहिले नै सम्बन्धित कार्यालयमा फिर्ता पठाइदिएको छु। अहिले मसँग कुनै निजी सुरक्षाकर्मी (P.S.O.) छैनन्।
उल्लिखित कुराहरू मेरो सादा जीवनशैलीका केही प्रतिनिधिमूलक उदाहरण हुन सक्तछन्। यस्ता दृष्टान्तहरू मसँग अरू पनि धेरै छन्। मसँग विविध विकल्पहरू उपलब्ध रहेकै अवस्थामा पनि मैले सरलता र सामान्य नागरिक जीवनअनुकूलकै विकल्प रोजेँ। तडकभडक, सानसौकत, आडम्बर जस्ता कुरामा मेरो रुचि रहेन। उपरोक्त कुराहरू केवल मेरो सादा, सरल र एकसरो बाँच्ने जीवनशैलीका दृष्टान्तका लागि मात्रै यहाँ उल्लेख गरिएको हो। म जे थिएँ, अहिले जे छु, मेरो जीवनशैली जे-जस्तो बन्यो, अनि मेरो जे-जस्तो आर्थिक हैसियत छ- यसैमा म खुसी र सन्तुष्ट छु। आफ्नो जीवनशैलीप्रति म गर्व नै गर्दछु।
मेरो पृष्ठभूमि, जीवनशैली र सम्पत्तिको समग्र विवरण यही नै हो। माथि उल्लेख गरिएको विवरणबाट मेरो वैध आयस्रोत, खर्च विवरण र जीवनशैली सम्बन्धमा सबै कुरा छर्लङ्ग र प्रस्ट हुने नै छ। यसका अतिरिक्त मेरो सदाचार, निष्ठा, इमानदारी र कानूनपरायणताको अरू थप पुष्ट्याइँ उल्लेख गरिरहनु आवश्यक होला भन्ने मलाई लाग्दैन। माथि उल्लेख गरिएअनुसारका चल-अचल सम्पत्तिबाहेक मेरो अन्य कुनै चल वा अचल सम्पत्ति स्वदेश वा विदेशमा रहेको छैन। मेरो आर्जनको कुनै पनि सम्पत्ति आफ्ना छोरा, छोरी, बुहारी, ज्वाइँ, दाजुभाइ, नातेदार, इष्टमित्रलगायत अरू कोही-कसैको नाममा राखेको पनि छैन। माथिको विवरणमा उल्लेख भएका व्यहोरा सबै ठिक साँचो छन्।
अब यसउप्रान्त मैले आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सम्बन्धमा पुनः प्रस्ट वा खुलस्त पारिरहनुपर्ने अवस्था आउने छैन भन्ने अपेक्षा पनि अहिले मैले राखेको छु।
विवरण प्रस्तोता:
ईश्वरप्रसाद खतिवडा
पूर्वन्यायाधीश, सर्वोच्च अदालत।
(संवत् २०८३ साल असार ३ गते बुधबार)







प्रतिक्रिया दिनुहोस्