
बुटवल, ३ जेठ ।
बाँकेको नरैनापुरमा भारतिय नागरिकहरुको घेराबन्दीमा परेकी ५ नं प्रदेश साँसद कृष्णा केसी नमुनाको प्रहरीले सकुशल उद्धार गरेको छ । नमुनासँगै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाह, एबिसी रिपोर्टर कृष्ण ओली, पत्रकार गजेन्द्र गुरुङ र नेकपाका नेता सुर्य घर्तिलाई समेत उद्धार गरिएको हो । शुक्रबार भारतीय ब्यापारीलाई प्रहरीले चरेस सहित पक्राउ गरेपछि नरैनापुर तनावग्रस्त बनेको थियो । पक्राउ परेका ब्यापारीलाई छोडनुपर्ने माग राख्दै साँसद नमुना सहितको टिमलाई स्थानियहरुले घेरावन्दी गरेका थिए ।
आक्रामक शैलिमा उत्रिएका स्थानियहरुले साँसद चढेको गाडीमा आक्रमण गर्नुकासाथै स्थानिय प्रहरी चौकीमा तोडफोड गरेपछि स्थिती तनावपुर्ण बनेको थियो । बेलुका ६ बजेबाट नरैनापुर गाँउपालिकाभित्र थुनिएका साँसद केसी लगाएतलाई जिल्लाबाट गएको प्रहरी टोलीले राती करिब १० बजेतिर उद्धार गरेको छ । उनिहरुलाई अहिले भोजभवानपुर ईलाका प्रहरी कार्यालयमा राखिएको छ । अहिले स्थितीलाई नियन्त्रणमा लिन ब्यापक प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले चरेश तस्करलाई पक्राउ गरेपछि बाँकेको नरैनापुरमा तनाव उत्पन्न भएको हो । भारतीय नागरीक देविदिन विकलाई प्रहरीले ५ किलो चरेश सहित पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै विकलाई रिहा गर्न माग गर्दै स्थानियहरुले प्रहरी चौकी घेरा हलेका थिए । आफु निर्वाचित क्षेत्रको स्थलगत अनुगमनमा गएकी ५ नं प्रदेश सांसद कृष्ण केसी ‘नमुना’ समेत घेराबन्दीमा परेकी थिईन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नयाँगाउ, खयरभट्टी लगायतका ठाँउको स्थलगत अवलोकन गरी फर्कदै गर्दा उनलाई स्थानियहरुले घेराबन्दी गर्नुकासाथै केसी सवार गाडीको हावा खोलिदिएका थिए । भारतीय ब्यापारीलाई छुटाउन माग गर्दै साँसद र पत्रकार सवार गाडीमाथी तोडफोड गरीपछि स्थिती झनै तनावपुर्ण भएको थियो । स्थितीलाई नियन्त्रणमा ल्याउन प्रहरीले २५ राउण्ड हवाई फायर गरेको थियो ।
सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले विकको रिहाईको माग गर्दै प्रहरी चौकी तोडफोड गर्न थालेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । स्थानियहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै प्रहरी चौकीमा समेत ढुंगामुडा गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्