उद्यमशीलताबाटै समृद्धि आउँछ : अध्यक्ष तिमिल्सिना




गलकोट, ९ चैत ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताउनुभयो । 

बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको आज बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु¥याउने बताउनुभयो । 

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । 

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर कन्स्ट्र«क्सनले रु सात करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सनब्रिज कार्यालयले उपलब्ध गराउनेछ । पुलको सबै निर्माण सम्पन्न गर्दा रु १२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने छ । 

निर्माण कम्पनीका कर्मचारी नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ ।

श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुङ्गे पुल हुनेछ । नेपालको अग्लो पुल भने पर्वतमा निर्माण भइसकेको बताउनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All