काठमाडौं,१ श्रावन । राष्ट्रियसभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । आलमको असार २९ गते बेलुका हृदयरोगको उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको थियो ।
आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर २ का संविधान सभामा निर्वाचित हुनु भएको थियो ।
उहाँ हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध रहनु भएको थियो । राष्ट्रियसभाले पूर्व राज्यमन्त्री आलमको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही श्रावण ८ गते मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ । शोक प्रस्ताव पारित गरेपछि संसदमा अन्य विषयमा छलफल नगरी बैठक स्थगित गर्ने प्रचलन रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्