प्रधानमन्त्री बालेन्द्र शाहको सम्वोधनको पूर्ण पाठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन केवल संगठनात्मक कार्यक्रम थिएन। यो महाधिवेशनले नेपालमा उदाउँदै गरेको नयाँ सत्ताशैलीको राजनीतिक दर्शन, मनोविज्ञान र सम्भावित भविष्यको झलक पनि प्रस्तुत गर्यो। विशेषगरी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का भाषणहरूले एउटा कुरा स्पष्ट पारे—सरकार र पार्टीबीच कुनै दूरी छैन, र सरकारमाथि उठिरहेका आलोचनाहरूप्रति रास्वपा र यसको नेतृत्व रक्षात्मक होइन, अझ बढी आक्रामक भएर प्रस्तुत हुन तयार छ।

‘बालेन पछाडि रवि’
महाधिवेशनअघि सरकारको शैलीबारे एउटा जिज्ञासा थियो। प्रधानमन्त्री बालेन शाहको आक्रामक निर्णयहरू, सार्वजनिक बहसबाट दूरी, प्रशासनिक हस्तक्षेप र विवादास्पद कदमहरू व्यक्तिगत शैली हुन् कि पार्टीको आधिकारिक लाइन ?
महाधिवेशनमा रवि लामिछानेले दिएको एउटा वाक्यले त्यसको जवाफ दियो।
“चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको। झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।”
राजनीतिक भाषामा यसको अर्थ स्पष्ट छ। सरकारको दिशा प्रधानमन्त्रीले तय गरिरहेका छन्, तर त्यसको राजनीतिक जिम्मेवारी पार्टी नेतृत्वले पनि लिइरहेको छ।
यो सामान्य समर्थन मात्र होइन। यो प्रधानमन्त्रीको शैलीप्रति पार्टी सभापतिको सार्वजनिक अनुमोदन हो।
आलोचनालाई जवाफ होइन, चुनौती
महाधिवेशनको सबैभन्दा चासोको विषय प्रधानमन्त्री बालेन शाहको भाषण रह्यो। सार्वजनिक अभिव्यक्तिमा कम देखिने प्रधानमन्त्रीले पहिलो पटक लामो राजनीतिक सम्बोधन गरे।
उनको भाषणको एउटा महत्वपूर्ण अंश थियो—सरकारलाई ‘गाडी’ र आफूलाई त्यसको चालकका रूपमा प्रस्तुत गर्नु।
“हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”
यो वाक्य सामान्य रूपक मात्र होइन। यसको राजनीतिक अर्थ निकै गहिरो छ।
लोकतान्त्रिक शासन व्यवस्थामा ‘ब्रेक’ भनेको संसद हो, न्यायपालिका हो, स्वतन्त्र प्रेस हो, नागरिक समाज हो, संवैधानिक निकायहरू हुन्। ती संस्थाहरूले सरकारलाई आवश्यक बेला रोक्छन्, सच्याउँछन् र नियन्त्रण गर्छन्।
तर प्रधानमन्त्रीले गन्तव्यमा नपुग्दासम्म ब्रेक आवश्यक नरहेको तर्क प्रस्तुत गरे।
यही कारण धेरै विश्लेषकहरूले यो अभिव्यक्तिलाई लोकतान्त्रिक नियन्त्रण र सन्तुलन (Checks and Balances) को अवधारणाप्रति असहज दृष्टिकोणका रूपमा हेरेका छन्।
लोकतन्त्रमा ब्रेक नराख्ने राजनीति
इतिहासमा धेरै लोकप्रियतावादी नेताहरूले आफूलाई राष्ट्रको उद्धारक र आफ्ना कार्यक्रमलाई अपरिहार्य मानेका छन्।
त्यसपछि संसदलाई बाधा, न्यायपालिकालाई अवरोध, प्रेसलाई विरोधी शक्ति र नागरिक अधिकारलाई विकासको अवरोधका रूपमा चित्रण गर्न थालेका छन्।
बालेन शाहको “एक्सप्रेस वे” को भाषणले पनि त्यस्तै मानसिकताको झल्को दिन्छ।
उनले सरकारको गति रोक्ने कुनै कारण नरहेको सन्देश दिए। प्रश्न उठ्छ—यदि सरकार गलत दिशामा जाँदैछ भने कसले रोक्ने ?
लोकतन्त्रमा कुनै पनि सरकार आफ्नो मूल्यांकन आफैंले गर्दैन। त्यसका लागि संस्थागत नियन्त्रणको व्यवस्था हुन्छ।
त्यसैले “ब्रेक नलाग्ने सरकार” लोकतन्त्रका लागि आकर्षक नारा हुन सक्छ, तर सुरक्षित अवधारणा होइन।
‘हामीले हावा चलाएका होइनौँ, खोला फर्काएका छौँ’
प्रधानमन्त्री शाहले अर्को महत्वपूर्ण दाबी गरे।
“हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका छौँ।”
यो अभिव्यक्तिले रास्वपाले आफूलाई अस्थायी राजनीतिक शक्ति होइन, स्थायी राजनीतिक धारा ठानिरहेको संकेत दिन्छ।
तर यहीं एउटा खतरा पनि लुकेको हुन्छ।
लोकतन्त्रमा जनमत परिवर्तनशील हुन्छ। जनताको समर्थन स्थायी हुँदैन। चुनावहरू त्यसैका लागि हुन्छन्।
जब कुनै दलले आफूलाई जनताको अन्तिम र अपरिवर्तनीय प्रतिनिधि ठान्न थाल्छ, त्यहाँबाट लोकप्रियतावादी अहंकार सुरु हुन्छ।
“राइट कि लेफ्ट होइन, विकासवादी”
रास्वपाको सबैभन्दा ठूलो वैचारिक प्रश्न अझै अनुत्तरित छ।
पार्टी दक्षिणपन्थी हो ?
वामपन्थी हो ?
केन्द्रवादी हो ?
प्रधानमन्त्री शाहको जवाफ थियो—
“हाम्रो पार्टी विकासवादी पार्टी हो।”
यो आकर्षक राजनीतिक वाक्य हो, तर पर्याप्त उत्तर होइन।
किनभने विकास आफैँमा विचारधारा होइन।
चीनले पनि विकासको कुरा गर्छ।
सिंगापुरले पनि विकासको कुरा गर्छ।
स्विडेनले पनि विकासको कुरा गर्छ।
साउदी अरेबियाले पनि विकासको कुरा गर्छ।
तर ती सबैको राजनीतिक प्रणाली फरक छ।
त्यसैले प्रश्न विकास गर्ने कि नगर्ने भन्ने होइन।
प्रश्न हो—कसका लागि विकास ? कुन मूल्यका आधारमा विकास ? नागरिक स्वतन्त्रता र सामाजिक न्यायको स्थान कहाँ छ ?
यिनको जवाफ रास्वपाले अझै दिएको छैन।
अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्ष ?
महाधिवेशनमा सबैभन्दा धेरै चर्चा भएको अभिव्यक्ति सम्भवतः यही थियो।
“अख्तियारलाई ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष पनि राख्छौँ।”
प्रधानमन्त्रीले यो भनाइ अख्तियारसँगको समन्वय र सरसल्लाहको प्रसङ्गमा राखे। तर राजनीतिक भाषामा शब्दहरूको प्रतीकात्मक अर्थ हुन्छ।
नेपालको संविधानले अख्तियारलाई स्वतन्त्र संवैधानिक निकाय मानेको छ।
त्यसैले कार्यपालिकाले संवैधानिक निकायमाथि कति प्रभाव राख्न सक्छ भन्ने विषय संवेदनशील हुन्छ।
यही कारण विपक्षी दलहरू र संवैधानिक विज्ञहरूले सरकारको यो भाषाशैलीलाई चिन्ताको विषय मानेका छन्।
‘सबै नियन्त्रणमा छ’
प्रधानमन्त्री शाहको भाषणको अर्को महत्वपूर्ण अंश थियो—
“हाउभाउ हेर्दा अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ।”
यो वाक्यले सरकारको आत्मविश्वास झल्काउँछ। तर लोकतान्त्रिक राजनीति केवल नियन्त्रणको अभ्यास होइन।
लोकतन्त्र सहमति, असहमति, बहस र सार्वजनिक उत्तरदायित्वको प्रक्रिया हो।
“सबै नियन्त्रणमा छ” भन्ने भाषा प्रायः व्यवस्थापकीय राज्यले प्रयोग गर्छ, लोकतान्त्रिक समाजले होइन।
गुटबन्दीविरुद्धको सन्देश
महाधिवेशनको एउटा सकारात्मक पक्ष पनि थियो।
बालेन शाहले पार्टीभित्र गुटबन्दी नबढाउन चेतावनी दिए।
“त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस्।”
नेपालका पुराना दलहरू गुटबन्दीका कारण कमजोर भएको तथ्यलाई हेर्दा यो सन्देश अर्थपूर्ण देखिन्छ।
तर प्रश्न फेरि पनि उही हो—गुटबन्दी रोक्ने नाममा आन्तरिक लोकतन्त्र पनि सीमित हुने हो कि ?
रविको भाषण : विश्वास कि आत्मसमर्पण ?
सभापति रवि लामिछानेको भाषण अझ रोचक थियो।
उनले रास्वपा संविधान, लोकतन्त्र, शक्ति पृथकीकरण, मानव अधिकार र समावेशी समाजप्रति प्रतिबद्ध रहेको बताए।
“देश रास्वपाको हातमा सुरक्षित छ।”
उनले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्ने वाचा पनि गरे।
तर यहीं विरोधाभास देखिन्छ।
यदि पार्टी वास्तवमै शक्ति पृथकीकरणमा विश्वास गर्छ भने प्रधानमन्त्रीको “ब्रेक नलाग्ने एक्सप्रेस वे” को भाषणप्रति कुनै टिप्पणी किन आएन ?
यदि पार्टी नागरिक अधिकारको पक्षमा छ भने सुकुम्बासी बस्तीमाथिको कठोर अभियान, विद्यार्थी संगठन र ट्रेड युनियनप्रति बढ्दो कठोरताबारे किन मौनता ?
रविको भाषणले सरकारलाई सन्तुलित गर्न खोजेन। बरु त्यसलाई पूर्ण वैधता प्रदान गर्यो।
नयाँ लोकप्रियतावादको नेपाली संस्करण
महाधिवेशनले एउटा कुरा स्पष्ट गरेको छ।
रास्वपा आफूलाई परम्परागत वाम वा दक्षिणको चौखटमा राख्न चाहँदैन।
तर यसको व्यवहारमा विश्वव्यापी लोकप्रियतावादका धेरै तत्व देखिन्छन्।
- स्थापित दलविरुद्ध आक्रोश
- संस्थाप्रति अविश्वास
- करिश्म्याटिक नेतृत्व
- ‘जनताको प्रत्यक्ष प्रतिनिधि’ भएको दाबी
- आलोचनालाई अवरोधका रूपमा हेर्ने प्रवृत्ति
- विकासलाई राजनीतिक वैधताको मुख्य आधार बनाउने प्रयास
यी सबै लोकप्रियतावादी आन्दोलनका साझा विशेषता हुन्।
सरकार अझ आक्रामक हुने संकेत
महाधिवेशनको सबैभन्दा ठूलो राजनीतिक निष्कर्ष यही हो।
सरकार र पार्टीबीच मतभेद छैन।
प्रधानमन्त्रीको शैलीलाई सभापतिले अनुमोदन गरेका छन्।
सार्वजनिक आलोचनालाई सरकार चुनौतीका रूपमा लिइरहेको छ।
संवैधानिक निकायहरूसँगको सम्बन्धलाई शक्ति प्रदर्शनमार्फत व्याख्या गरिँदैछ।
र पार्टी आफ्नो वैचारिक अस्पष्टतालाई “विकासवाद” को आवरणमा ढाकिरहेको छ।
त्यसैले महाधिवेशनपछि सरकार अझ आक्रामक हुने सम्भावना बलियो देखिन्छ।
रास्वपाको प्रथम महाधिवेशनले पार्टीको संगठनात्मक यात्रा मात्र होइन, यसको सत्तादर्शन पनि उजागर गरेको छ।
रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहको शासनशैलीलाई खुला समर्थन दिएका छन्। बालेन शाहले आलोचनालाई जवाफ दिनुभन्दा आफ्ना आलोचकहरूलाई सन्देश दिएका छन्—सरकार रोकिने छैन।
यही कारण यो महाधिवेशनलाई केवल पार्टीको आन्तरिक कार्यक्रमका रूपमा हेर्न मिल्दैन। यो नेपालको नयाँ सत्ताशैलीको घोषणापत्रजस्तै देखिएको छ।
अब हेर्न बाँकी छ—यो शैली वास्तवमै सुशासन, विकास र संस्थागत सुधारतर्फ जान्छ कि लोकप्रियतावादी आत्मविश्वासबाट क्रमशः केन्द्रीकृत र असहिष्णु शासनतर्फ। नेपालको लोकतन्त्रका लागि त्यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ।
प्रधानमन्त्री बनेपछि बालेनको पहिलो सम्बोधनको पूरा पाठ
नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है। राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनु भएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्री गणहरू, सांसदज्यूहरू तथा उपस्थिति सम्पूर्ण देशप्रेमी, राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु।
कुरा कताबाट सुरु गरौँ त आज! खासमा महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने हाम्रो पार्टी जुन एउटा सानो महत्त्वाकांक्षा, सानो इच्छा, देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दा खेरी, यो पार्टी आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने स्थापित गर्ने दिनमा आउँदा खेरी हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्नेनै कुरा गर्नुपर्छ।
आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनु भएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिनता पनि लिनुभएको छ।
सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दा खेरी गाडी सीधा गइराख्दा खेरी कहिले लेफ्टबाट गाडी आउँछ कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरुरी हुँदैन। र, हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ, धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु ।
चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ।
हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका छौँ। र, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ।
यो हावा जस्तो कहिले लेफ्टराइट, उत्तरदक्षिण, पूर्वपश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनहुनेहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
मेरो एक जना अनन्य मित्र अहिले उहाँ हुनुहुन्न। उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले म्युजिक गर्दा खेरी– बालेन स्पटलाइटमा आउन सहज हुन्छ, तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेता गणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई के भन्न चाहन्छु भने हामीलाई स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको हो। र, जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ।
हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रतिमात्रै चम्किँदैन। हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ। र, आज पार्टीप्रति। र, आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नुपर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो।
हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साँध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन। निहुँ खोज्नु परे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ। कस्तो केसमा मात्रै भन्दा खेरी विगतका दिनहरूमा कुनै फटाही भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। त्यहाँ निहुँ खोज्छौँ हामी। र, निहुँ खोज्दै गर्दा खेरी अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन, ५ वर्ष गर्छौँ। ५ वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नुपर्दैन।
हामीले नियम कानुन मिच्दैनौँ। नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दा खेरी अलिकति अनियन्त्रित देखिएला। त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउटअफ कन्ट्रोल गएको छैन।
चिन्ता कुनै विषयमा लिनुपर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दा खेरी, पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरी उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो। ल ठिक छ तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग प्रमाण छ।
हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दा त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ।
हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र, हामी ल्याउँछौँ। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नुपर्दैन। कसैले पनि मान्नु पर्दैन। र, विशेष गरी पार्टीको कुरा गर्दा खेरी पार्टीको महाधिवेशन चल्दै छ, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि हाम्रो संस्कार कताकता बिग्रिएको थियो। गुट बनाउने, उपगुट बनाउने।
यहाँ महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला। तपाईंहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन। त्यही भएर समूह बनाउनेको पछाडि नलाग्नुहोला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ। हामीले पुरानाहरूबाट सिक्नुपर्छ।
र, एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा हो। हामीले हरेक चुनावमा एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भन्या छ, सुशासनको लागि एजेन्डा बोक्या छ, सुकुम्वासी समस्या हटाउँछु भन्या छ, हामीले यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ, सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकर जाने हो।
भोलि पर्सि हुने चुनाव भयो। अथवा केही भयो। चुनावमा कसैलाई सीसीएम बन्न लाग्छ, कसैलाई पदाधिकारी। बन्नुभयो ठिकै छ बन्नुभएन भने पनि चिन्ता किन लिनुपर्दैन भन्दा खेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो।
र, एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। तपाईंले सीसीएम जित्नुभएन, म सीसीएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुस् भन्नुस् पार्टीलाई भन्नुस्। तपाईं सांसद हुन सक्नुभएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुस्, तपाईंलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ। यो सरकारले गर्छ।
हाम्रो पार्टीका पदाधिकारीहरू र सीसीएमहरू विभिन्न जिल्लाबाट आउनुभएको छ। उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने अनुभूति गराउन अनुरोध गर्न चाहन्छु।
अझै बोलौँ? के गरौँ?
ठिकै छ, अब नबोलौँ भन्दा भन्दै पनि बोल्ने दिन आइहाल्छ भन्या जस्तै। ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ। एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईंहरूलाई भन्दा खेरी पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो। पार्टीलाई एक बनाउनुपर्छ। आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ, त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ, धेरैधेरै धन्यवाद।







प्रतिक्रिया दिनुहोस्