काठमाडौं ७ असार । भरतपुरमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता हुने भएको छ।
रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि औपचारिक रूपमा निमन्त्रणा गरेको जनाएको छ। सोही अनुसार विभिन्न दलका नेताहरू चितवन जाने तयारीमा छन्।
तर, प्रमुख दलका दुई शीर्ष नेता भने उद्घाटन सत्रमा उपस्थित नहुने भएका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनमा सहभागी नहुने भएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा भने अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन्। एमालेका तर्फबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र माओवादी केन्द्रबाट नेता वर्षमान पुन चितवन जाने भएका छन्।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा उपस्थित हुने भएका छन्। तर श्रम संस्कृति पार्टीबाट भने कुनै प्रतिनिधि सहभागी नहुने सो पार्टीका नेताहरूले बताएका छन्।
महाधिवेशनले रास्वपाको संगठनात्मक संरचना, आगामी रणनीति र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया दिनुहोस्