
पोखरा,३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । उनी असार ९ गते बिहान पोखराबाट हराएका थिए ।
उनको शव शनिबार बिहान सेती नदी किनारमा फेला परेको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए ।
असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीको थियो । प्रहरीले पत्रकार सम्मेलन गरेरै पौडेल सेतीबाट हाम फालेको र कारणबारे अनुसन्धान भइरहेको बताएको थियो ।
शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए । पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरी अनुसन्धानकै क्रममा रहेका कारण सेतीमा हाम फाल्नुको यकिन कारण भने आइनसकेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्