स्याङ्जा, २० असार । ज्वाइँले रड प्रहार गर्दा घाइते भएका विरुवा गाउँपालिका–३ राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको बुधबार मृत्यु भएको छ । सोही ठाउँ घर भएका (छोरी) ज्वाइँ खुमबहादुर थापाले आइतबार बेलुका मोहनसिंहको दम्पतीलाई नै रड प्रहार गरी घाइते बनाएका थिए। मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारीलाई भने अस्पतालले डिस्चार्ज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार टाउको र शरीरमा चोट लागेका मोहनलाई जिल्ला अस्पताल, गण्डकी अस्पताल पोखरा हुँदै फिस्टेल अस्पतालमा भर्ना गरिएको थियो। ज्वाइँको कुटाईबाट गम्भीर घाइते भएका उनलाई आइसीयूमा राखिएको थियो।
ज्वाइँ खुमबहादुरलाई प्रहरीले आइतबार पक्राउ लगत्तै मानसिक सन्तुलन ठिक नभएको भन्दै दाजुको जिम्मा लगाई छाडेको थियो। मोहनसिंहको मृत्यु भएसँगै खुमबहादुरलाई पुन पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्त्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। खुमबहादुरलाई जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।



















प्रतिक्रिया दिनुहोस्