नेपालगन्ज, १८ असार । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुटेको छ ।
आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापर्बाही गर्दा आवतजावत प्रभावित भएको हो ।
पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर गएरातिदेखि आवतजावत ठप्प भएको हो । “ठाउँठाउँमा पुल बनिरहेका छन्, तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी पर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ,” गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोख्नुभयो ।
वर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भए पनि सुनुवाइ नहुँदा यो अवस्था आएको उहाँले बताउनुभयो ।
“अब न भारततिर जान सक्ने अवस्था छ, न नेपालगन्ज आउने अवस्था छ, आफ्नो २ नं वडामा रहेको घरबाट गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन,” अध्यक्ष शाहले भन्नुभयो ।
यस सम्बन्धमा रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अस्थायी भए पनि नेपालगन्जसँग नरैनापुर क्षेत्रको सडक सम्पर्क जोड्न निर्माण कम्पनी र आयोजना कार्यालयमा निर्देशन दिएको बताउनुभयो । त्यस्तैगरि बाकेमा बाढी कारण मर्नेको संख्या चार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्