काठमाडौँ, ८ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
सांसद देवप्रसाद तिमिल्सना र सांसद नरमाया ढकालले राज्यले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई रोजगार तथा शिक्षाको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद कृष्णभक्त पोखरेलले अदक्ष कामदारले विदेशमा पठाउँदा जोखिम बढेको भन्दै बिना सीप विदेशमा कुनै पनि कामदारलाई पठाउन नहुनेमा जोड दिनुभयो ।
सांसद यज्ञबहादुर सुनुवारले स्वास्थ्य र शिक्षामा जनताको नैसर्गिक अधिकार भएकाले यसमा सरकारले उचित व्यवस्थापन गरी उचित रकमको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरु घनश्याम खतिवडा, दिव्यमणिराज भण्डारी, गणेशसिंह ठगुन्ना, मीरादेवी जैरीे, मैनाकुमारी भण्डारी, चन्द्रकान्त चौधरीले शिक्षा र स्वास्थ्य मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण पाटो भएको हुँदा नागरिकको आधारभूत शिक्षा र स्वास्थ्यमा गरीब जनताको पहुँच पु¥याउने विषयलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा सांसद पवित्रा निरौला खरेल, सूर्यप्रसाद पाठक, सांसद सुजिता शाक्य, रेखाकुमारी झा, गजेन्द्रबहादुर महतलगायतले बजेट विनियोजन सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १० गते दिउँसो २ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्