सिङ्गापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।
उहाँहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ ।
वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।
मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उहाँले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ ।
यतिमात्र होइन पहिलो भेटमा किम-ट्रम्पले के सम्झौता गर्छन् मात्रै होइन उनीहरुले कस्तो कपडा लगाए, कस्तो एक्सप्रेसन देखाए र के-के खानेकुरा खाए भन्ने बारेमा पनि धेरैलाई चासो छ । किम र ट्रम्पको भेटमा उनीहरुलाई खुवाउन सेफहरुले विशेष खानाको मेनु तयार गरेका थिए जसमा तीनथरी डेजर्ट समावेश छन् । हृवाइट हाउसले सार्वजनिक गरेको मेनुमा कोरियाली र पश्चिमी खानाको फ्युजन रहेको छ ।
सुरुमा उनीहरुलाई विशेषगरी मलाय प्रायद्वीपमा लोकपि्रय हरियो आँपबाट बन्ने ‘केराबु’ मा मह र ताजा अक्टोपस राखी सर्भ गरिएको थियो । त्यस्तै काँक्रोमा अरु विभिन्न चिज राखेर बनाइने कोरियाली खाना ‘ओइजोन’ को साथमा एभोकाडोको सलादसँग प्राउन ककटेल ट्रम्प र किमले खाए ।
मुख्य कोर्सको रुपमा ट्रम्प र किमले विशेष डौफिनोइज आलु र बिफ खाए, जसमा उसिनेको ब्रोकाउली र छेउमा रेडवाइन सस राखिएको थियो ।
त्यस्तै मेनुमा रहेको अर्को स्वादिलो खाना बङ्गुरको मासु राखेर फ्राई गरिएको ‘याङजोउ फ्राइड राइस’ हो । यसमा घरमै बनाइने जो चिल्ली सस राखिन्छ । याङजोउ फ्राइडराइस विशेषगरी प्राउन, मटर र अण्डा राखेर फ्राइड गरिन्छ । त्यस्तै किम र ट्रम्पले खाएको अर्को कोरियाली खानामा ‘डेगु जोरिम’ रहेको छ जसलाई कड फिस र मुला राखेर बनाइएको हुन्छ ।
उत्तर कोरियाको समुन्द्री खानाहरुको निर्यातमा प्रतिबन्ध लगाइएकाले मेनुमा समावेश थिएन. ।
त्यसैगरी मुख्य खानापछि खाइने डेजर्ट तीनथरि थियो । उनीहरुलाई डेजर्टको रुपमा डार्क चकलेट ‘टार्लेट गान्चे’, भेनिलाको स्वादमा ‘हागेन्डाज आइसक्रिम’ र एक प्रकारको फ्रेन्च पेस्ट्री ‘ट्रोपेजाइन’ दिइएको थियो ।
ट्रम्पले मनपराउने खानाको बारेमा सबैलाई थाहा भए पनि सार्वजनिक स्थान र मिडियामा निकै कम देखिने किमले कस्तो खालको मन पराउँछन् भन्ने बारेमा धेरैलाई चासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्