काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा सभापतिलाई थप शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव अघि सारेको छ। पार्टीभित्र विभिन्न राजनीतिक समूहबाट आएका नेताहरूलाई व्यवस्थापन गर्ने उद्देश्यसहित सभापतिलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म मनोनयन गर्ने व्यापक अधिकार दिने तयारी गरिएको हो।
सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित विधान संशोधन उपसमितिले तयार पारेको मस्यौदालाई केन्द्रीय सचिवालय बैठकले स्वीकृति दिएको छ। प्रस्तावित व्यवस्थाअनुसार अब रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ, जसमा १०० जना निर्वाचित हुनेछन् भने बाँकी ५१ जना सदस्य सभापतिले मनोनीत गर्न सक्नेछन्।
संशोधित विधानले सभापतिलाई उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्तालगायतका पदमा मनोनयन गर्ने अधिकार पनि प्रदान गरेको छ। त्यस्तै, ३३ सदस्यीय केन्द्रीय सचिवालयका अधिकांश सदस्य पनि सभापतिको सिफारिसमा चयन हुने व्यवस्था प्रस्ताव गरिएको छ।
रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दैछ। सभापति पदका लागि रवि लामिछाने एक्ला दाबेदार देखिएका छन्। पार्टीभित्र समायोजनका माध्यमबाट आएका विभिन्न समूह, विशेषगरी बालेन्द्र शाहसँग निकट मानिने नेताहरूलाई सम्मानजनक रूपमा समेट्ने उद्देश्यले सभापतिको अधिकार विस्तार गरिएको नेताहरूको भनाइ छ।
पार्टी स्रोतका अनुसार प्रत्यक्ष निर्वाचनमा जाँदा समायोजनबाट आएका धेरै नेताहरू पराजित हुन सक्ने आकलन गरिएको छ। त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टि रोक्न र संगठनात्मक एकता कायम राख्न मनोनयनको दायरा बढाइएको बताइएको छ।
पार्टीका एक नेताले निर्वाचनले सधैं अपेक्षित परिणाम नदिने भएकाले विशेष परिस्थितिमा विशेष व्यवस्था आवश्यक ठानिएको बताए। उनका अनुसार तीव्र गतिमा विस्तार भएको पार्टीभित्र विभिन्न पृष्ठभूमिका नेताहरूलाई समेट्न नेतृत्वलाई थप अधिकार दिनुपर्ने निष्कर्ष निकालिएको हो।
यद्यपि, सहमहामन्त्री विपिन आचार्यले प्रस्ताव अझै अन्तिम निर्णय नभएको र महाधिवेशनले नै यसबारे अन्तिम टुंगो लगाउने स्पष्ट पारेका छन्। उनले आवश्यक परे विभिन्न पदमा निर्वाचन हुन सक्ने सम्भावना पनि खुला रहेको बताए।
महामन्त्री भूपदेव शाहले भने अधिकांश पदमा सर्वसम्मतिको प्रयास भइरहेको र समायोजनबाट आएका नेताहरूलाई सम्मानजनक स्थान दिने विषयमा समझदारी बनेको संकेत दिएका छन्।
पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा आयोजित बैठकमा सभापति रवि लामिछानेले समायोजनबाट आएका नेताहरूलाई सम्मानजनक रूपमा समेट्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ।







प्रतिक्रिया दिनुहोस्