अछाम, १४ जेठ । साँफेबगर नगरपालिकाले नव विबाहित जोडीलाई खप्तड पर्यटकीय क्षेत्रको अवलोकन गराउने भएको छ । खप्तड पर्यटन क्षेत्रको विकासका लागि शुक्रबार बसेको नगर कार्यपालिकाको तेह्रौँ बैठकले सो निर्णय गरेको हो ।
बैठकले नव विबाहित तीन जोडीले नगरमा खप्तड घुम्न जाने निवेदन दिएमा उनीहरुलाई खप्तड घुमाउन नगरबाट तीन हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विवाहित जोडी मध्ये एक जना अछामी नागरिक हुनु पर्ने, विबाह दर्ता प्रमाणपत्र सहित नगरपालिका निवेदन दिनुपर्नेछ । अछाममा कार्यरत कुनै सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्ने नव विबाहित जोडीले खप्तडमा जान चाहेमा सम्बन्धित कार्यरत कार्यालयको सिफारिस पत्र र निवेदन नगरपालिकामा पेश गर्नुपर्नेछ ।
नगरपालिकाले खप्तड पर्यटकीय क्षेत्रमा जान चाहने विबाहित नवजोडीलाई चाहिने आवश्यक पथ प्रर्दशकको व्यावस्था पनि गर्नेछ । तर खप्तड जान चाहने जोडीले विबाह गरेको तीन महिना अर्थात नब्बे दिन भित्र नगरपालिकामा निवेदन दिनुपर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले बताउनु भयो । उहाँले आफूले निकट भविष्यमै यूवा बेरोजगारीको समस्या समाधान गर्न र खप्तड लगाएतका पर्यटकीय क्षेत्रको विकासका गर्न पथ प्रर्दशकको तालिम सञ्चालन गर्ने पनि बताउनुभयो ।
पथ प्रर्दशकका लागि नगरका बीस जना यूवाहरुलाई खप्तड पर्यटकीय क्षेत्रमै तालिम दिई उनीहरुलाई खप्तडका सबै ठाउँहरुको जानकारी लिन लगाउने र तालिम पछि गाईडको रुपमा राखिने नगर प्रमुख कँवरले जानकारी दिनुभयो । यो वाफत पथ प्रर्दशकलाई नगरपालिकाले पाँचहजार रुपैयाँ प्रदान गरिनेछ । उहाँले खप्तडको विकासका लागि नगरपालिकाका पातलकोट, बुढाकोट, सिद्धेश्वर, घुघुरकोट, देविस्थान, खप्तड र बाब्ला खप्तड पर्यटकीय क्षेत्रसैग जोडीएकाले गाईडको तालिमका लागि त्यहाँका यूवाहरुलाई विषेस प्राथमिकता दिने बताउनुभयो ।
यसै गरी उहाँले आगामी दिनमा आफू खप्तड, नेपालका चारधाम मध्येको एक धाम बैद्यनाथधाम, जिम्राडी, धौलछडा, विम्बकोट दरबार केन्द्रित हुने बताउनुभएको छ । पर्यटन प्रर्वद्धन गर्न आगामी दिनमा साँफेबगर नगरकार्यपालिकाका बैठकहरु पनि क्रमशः अछामका विभिन्न पर्यटकीय क्षेत्रहरुमा गर्ने योजना रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्