
काठमाडौं, १ जेठ । माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ। वन कसुरको मुद्दामा उनलाई पक्राउ गर्न अदालतले पत्राचार गरेको हो ।
उनी विरुद्ध अवैध रुपमा चिरान काठको कारोबारको मुद्दा दायर भएको थियो।
सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो।
पक्राउ परेका ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा सो काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो।
जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो। पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय भएको छ। त्यसविरुद्ध उनले सर्वोच्चमा अपिल गरेका छन्। यही बेला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो।
कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वाचित सांसद हुन् ।



















प्रतिक्रिया दिनुहोस्