काठमाडौं, २१ वैशाख । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव शुक्रबार बिहान देशैभरि देखिएको छ ।आज शुक्रबार बिहान राजधानी लगायत देशका विभिन्न शहरमा यात्रुवाहक सवारी साधनहरु छिट्फुटरुपमा देखिएका छन् । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु संचालनमा नआएपनि निजी सवारी साधन र ट्याक्सीहरु संचालनमा आएका छन् ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पछि यात्रुहरू विचल्लीमा परेका छन्।
गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य छन्। खासगरी कक्षा ११ र १२ को परीक्षा दिइरहेका विद्यार्थी र बिरामी बढी मारमा परेको देखिन्छ।
परीक्षा केन्द्र टाढा परेका विद्यार्थीले यातायात नचल्दा आफूहरूलाई समस्या भएको गुनासो गरे। केहिले निजी सवारी साधनमा लिफ्ट मागेर काम चलाएका थिए । यातायातका साधन नचल्दा सडक सुनसान छन्। शुक्रबारदेखि यातायात बन्द हुने यसअघि नै उनीहरूले घोषणा गरेका थिए। लामो रुटका सवारी साधन बिहीबारदेखिनै चलेका छैनन्।
यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।
सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन् ।
सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्य गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्