काठमाडौं, २१ वैशाख । सनम शाक्य हत्या र हराएको भनिएको साढे ३३ किलो सुनबाट सुरु भएको अनुसन्धानले सुन तस्करको समूहको पर्दाफास भएको छ ।
तस्करीमा सघाएको आरोपमा ८ जना प्रहरी पक्राउ परिसकेका छन् । एक जना एसएसपी अझै फरार छन् । तर, साढे ३३ किलो सुन अझै भेटिएको छैन ।
अनुसन्धान समितिले प्रहरी, व्यवसायी र एयरलाइन्सका कर्मचारीलाई मात्रै कारबाहीको दायरामा ल्याएको भन्दै प्रश्न पनि उठेको छ ।
चार वर्षयता नेपालमा गोरेकै नेतृत्वमा मात्रै ४२१ पटक गरी झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धान टोलीको निष्कर्ष छ । यति ठूलो परिमाणमा सुन तस्करी हुँदा विमानस्थलमा भएको भन्सार कार्यालय, अध्यागमन, गुप्तचार लगायतका संयन्त्रको कुनै सहयोग छैन ? आखिर किन त्यसतर्फ छानबिन भएन ? यो प्रश्न अहिले अनुसन्धान समितितर्फ तेर्सिएको छ । स्रोतका अनुसार छानविन समितिले सुन तस्करीको र्याकेट चलाइरहेको अन्य गिरोहतर्फ पनि छानबिन अघि बढाएको छ
गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको अनुसन्धान समितिका एक अधिकारीका अनुसार अनुसन्धान सकिएको छैन, त्यसैले यो पाटो बाँकी रहृयो ।
‘यो अनुसन्धानको प्रस्थान विन्दु सनम शाक्यको हत्या हो । त्यससम्बन्धी मुद्दा निश्चित अवधि ६० दिनमा अदालतमा बुझाउनु पर्ने भएकाले अहिले पहिलो फेजमा त्यसतर्फ अनुसन्धान भएको हो’, उनले भने, ‘अनुसन्धान सकिएकै छैन, जारी छ ।’
उनका अनुसार संगठित अपराध ऐनमा मुद्दा अदालतमा बुझाइए पनि अनुसन्धानका क्रममा अन्य थप व्यक्ति संलग्न भएको देखिए वा अभियोग लगाउनु पर्ने भयो भने फेरि पनि नियन्त्रणमा लिन र अभियोग लगाउन मिल्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्