काठमाडौं, १७ वैशाख । लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छन् ।
२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् ।
२ वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो । करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ ।
सभाहलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ । हललाई आवश्यकता अनुसार सानो–ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराई बताउँछन् ।
सभाहलको शिलान्यास गरेपछि राष्ट्रपतिले बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्