काभ्रेपलाञ्चोक, ६ जेठ । । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ ।नमोबुद्ध नगरपालिकाले वडा नं। २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि पठाइएको थियो ।
‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।सूचनामा कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न, अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म परिसरमा अन्य पशुपन्छी प्रवेश हुन नदिन तथा फार्ममा प्रयोग हुने सामग्री नियमित निस्संक्रमण गर्न आग्रह गरिएको छ ।त्यस्तै, कुखुरा पालन गर्ने कृषकलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, बिरामी कुखुरा देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन तथा खुला रूपमा कुखुरा पालन नगर्न पनि अनुरोध गरिएको छ ।नगरपालिकाले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन दिएको छ । साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह पनि गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्