काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनुभएको छ ।
पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नु भयो । उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनु भयो ।
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनु भयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहा“ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उहा“को तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इश्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको पनि बताउनु भयो ।
उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गर्नु भयो । हिजो (आईतबार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गर्नु भएको थियो । उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताउनु भयो । उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्