
काठमाडौैं,१६पुस । सरकारले यातायात सेवा संचालनका लागि छुट्टै प्राधिकरण गठन गर्ने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात सेवा संचालनको कामलाई व्यवस्थित बनाउन सरकारले यातायात सेवा प्राधिकरण गठन गर्न लागिएको जानकारी गराउनु भएको हो ।
आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी बैशाख भित्र ३ सय वटा विद्युतीय बस खरिद गरि संचालनमा ल्याउने योजना पनि अघि सार्नु भयो ।
काठमाडौं उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन मन्त्रीपरिषद बैठकले ३ सय वटा विद्युतीय बस खरिद गर्न स्विकृति प्रदान गरिसकेको छ । मन्त्री महासेठले मन्त्रीपरिषद बैठकले स्विकृति दिएको उल्लेख गर्दै बैशाख भित्र सो विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने जानकारी दिनु भयो ।
मन्त्री महासेठले महेन्द्र राजमार्ग स्तरोन्नतिको कामलाई यही पुस २५ गतेबाट औपचारिक रुपमै अघि बढाउने घोषणा पनि गर्नु भयो । महेन्द्र राजमार्गको नारायणगढ–वुटवल सडक खण्ड स्तरोन्नतिको काम सुरुमा संचालन गर्ने मन्त्री महासेठको योजना छ ।
मन्त्री महासेठले २ लेनको सो राजमार्ग ४ लेन हुने गरी स्तरोन्नतिको काम गर्ने पनि जानकारी दिनु भयो । उहाँले सरकारले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई उच्च प्राथमिकता दिएको दावी पनि गर्नु भयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका गरेका प्रथम चौमासिक कामको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्