
काठमाडौं, ३१ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको सोमबार साँझ निधन भएको छ।
पित्तथैली र कलेजोको समस्याबाट पीडित ५१ वर्षीय शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
शाहको निधनमा दुख प्रकट गर्दै उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् । उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका छन्।
शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि उनले करिब १० वर्ष नेपाली फुटबलमा राज गरे।
सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए।
मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका उनले १९९७ मा फुटबलबाट संन्यास लिए।
सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने मौका पाएका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।
शाहका श्रीमती र छोरी छन्।



















प्रतिक्रिया दिनुहोस्