काठमाडौं, ११ वैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता वा राहदानी लिएका १७ जना चिकित्सकहरूको दर्ता खारेज गरेको छ। काउन्सिलले शुक्रबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार उनीहरूको नाम दर्ता किताबबाट हटाइएको जनाएको हो। यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ।
काउन्सिलका अनुसार बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएका चिकित्सकहरू दर्ता खारेजीमा परेका छन्। खारेज गरिएका नाममा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोशन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू लगायत रहेका छन्।
त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले स्पष्ट पारेको छ। कानुनी व्यवस्था अनुसार नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकले विदेशी नागरिकता लिएपछि उनीहरूको दर्ता स्वतः अमान्य हुने प्रावधान रहेको छ।




















प्रतिक्रिया दिनुहोस्