काठमाडौँ, २७ माघ । नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजवादी) को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक बिहीबारदेखि सुरु भएको छ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल गरिने छ ।
देशभर संगठनको अवस्था र भावी रणनीतिका बारे प्रतिवेदन प्रस्तुत गरिने बैठकमा राष्ट्रिय अधिवेशनका लागि मिति तोक्न छलफल गरिने छ । संगठनलाई आगामी जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै समुदायको संस्कृति संरक्षण गर्नुपर्ने बताए ।
उनले मुलुकको कम्युनिस्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिस्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको प्रष्ट पारे ।
पार्टीका स्थायी समिति सदस्य एवं मोर्चा फाँट उपप्रमुख भवेश्वर पराजुलीले मुलुकमा विद्यमान विसंगति, विकृति न्यूनीकरणका लागि संस्कृतिकर्मी क्रियाशील हुनुपर्नेमा जोड दिए । जनसांस्कृतिक संगठनका इन्चार्ज उदय श्रेष्ठले संगठन सुदृढीकरणका साथै समान दृष्टिकोण तथा वैचारिक रुपमा नजिक रहेका संस्कृतिकर्मीलाई एकताबद्ध गर्न सुझाव दिए ।
संगठनका अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष पुष्कर भट्टलगायतले मुलुकमा राजनीतिक परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलनमा संस्कृतिकर्मीले भूमिका निर्वाह गरेको भए पनि जनताको जीवनमा आर्थिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे ।



















प्रतिक्रिया दिनुहोस्