धनुषा, २८ साउन । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती रहेको छ ।
विष्णु पुराणका अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुष क्षेत्रमा छ । धनु खसेको जनकपुरधामको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताए ।
धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख रहेको छ । यो रुख करिव साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास रहिआएको छ । धनुषाको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन । जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाआर्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी धर्मालम्बीहरु आउने गरेका छन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक गरेका छन् ।
शताब्दियौंदेखिको जनविश्वासले गर्दा स्वस्पूर्त रूपमा अध्यात्मिक केन्द्र विन्दु रहँदै आएको धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम नगरिएको पूजारी दास बताउ“छन् । धनुषाधाममा बाह्रैमहिना श्रद्धालुहरू पुग्ने गरेको भएपनि माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गरि अस्थायी कटेजहरूको निर्माण गरि पर्यटक भित्राउन सकिए निकै लाभदायी हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्