काठमाडौं, २१ वैशाख। काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको जात्रा आइतबार साँझ सकिएको हो ।
करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई रथ ९खट०मा राखी शनिबार ऐतिहासिक सहर बनेपाको पुरानो बजारमा रथारोहण गराई आइतबार साँझ मन्दिरमै लगिएपछि जात्रा सम्पन्न भएको हो । विशेषगरी स्थानीय नेवार समुदायले मनाउने यस जात्रा बनेपालीका लागि ठूलो चाड हो । जात्राको पहिलो दिन बिहीबार बिहानैदेखि हरेक घरबाट चण्डेश्वरी देवीको पूजाअर्चना गर्ने र साँझ हनुमान ढोकाबाट ल्याइने तरबार ९खड्ग०सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिएपछि औपचारिक रूपमा जात्रा सुरु भएको थियो ।
भोलिपल्ट शुक्रबार सबेरै हजारौँको सहभागितामा जलेश्वर महादेवसम्म मत पूजा ९चिराग यात्रा० गरिएको थियो भने सोही दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको रथलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथलाई स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याएका थिए । यस्तै भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाली सोही खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखी रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाएका थिए ।
तेस्रो दिन आइतबार साँझ लायकु भन्ने स्थानबाट वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिएको हो । त्यसअघि ‘कलंदान’ (बलि दिएका बोकाको मासु फ्याँक्ने) गरिएको थियो । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ भने बूढापाकाले टोलटोलमा बसी बिहानबेलुका भजन गाएका थिए भने जात्रा अवधिभर सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको निकै भीडभाड देखिएको थियो ।
‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको तथा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । सरकारको तर्फबाट समेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्ने गरेका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । जात्रा अवधिभर बनेपा नगरमा सार्वजनिक बिदा दिइएको थियो ।








प्रतिक्रिया दिनुहोस्