
काठमाडौं,४ जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भगवान् गौतमबुद्धले शान्तिको सन्देशमार्फत् नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको बताउनुभएको छ ।
गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्म संस्कृति संरक्षण सङ्घले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेक्रमा आयोजना गरेको स्रष्टा सम्मान कार्यत्रममा उहाँले बुद्धत्व स्वयंमा प्रकाशमान भएकाले कहिल्यै ननिभ्ने विचार राख्नुभयो ।
“बुद्धका धेरै अष्टमार्गमध्ये सम्यक् दृष्टि, सम्यक् विचार र सम्यक् कर्मको मात्र पालना गरेपनि मानवजीवन सुखी र खुशीमय हुनेछ, भावना शुद्ध भयो भने मानिसले गलत गर्दैन”, उहाँले भन्नुभयो । वैदिक परम्परा र बौद्धमार्ग दुवै समतावादी भएकाले मानव मात्रको कल्याणका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इतिहासविद् दीनेशराज पन्तले बौद्ध धर्म ग्रन्थ कालचक्र विसं १०८२ मा ज्योतिष, ब्याकरण र तन्त्रलगायत विषय पनि समावेश भएको बताउनुभयो । बौद्ध धर्मावलम्बीलाई चाहिने सबै विषय कालचक्रमा रहेको उहाँले सुनाउनुभयो ।
कालचक्रका आधारमा बुद्ध १८८ वर्ष पुराना हुनुभएको इतिहासविद् पन्तको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले धर्म संस्कृतिको संरक्षणका लागि नगरपालिकाले बजेट छुट्याएर नै गुम्बा, मठमन्दिरको जीर्णोद्धार एवं नवनिर्माण गरिरहेको बताउनुभयो ।
सो अवसरमा इतिहासविद् पन्त, ३ नं प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, नगरपालिकाका प्रमुख सल्लाहकार रिसाल, ज्योतिषि ओजराज लोहनी, लेखक एवं समाजसेवी शङ्कर पौडेल, संस्कृतिविद् हरिप्रसाद सोडारी, सङ्गीतकार मदन सिंह, पत्रकार जगत लामा दोङ, खेलाडी चन्द्रमान लामा, मानव अधिकारवादी कुमार घिमिरे, नृत्यकार फ्रेमलाल श्रेष्ठ, गायिका वसन्ती लामा तामाङ र शिक्षासेवी राजु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यत्तित्व पौडेल र लोहनी, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ र आयोजक समितिका अध्यक्ष अमित तामाङ लामा लगायतले भगवान् बुद्धले विश्व शान्तिका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्