काठमाडौं,२८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तराष्ट्रिय सहयोगमा यसलाई समृद्ध बनाउन दृढ भएको बताउनुभएको छ ।
भियताम–नेपाल व्यवसाय मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनामबीच अहस्तक्षेप तथा आपसी सम्मानका सिद्धान्तका आधारमा सम्बन्ध गाँसिएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध बलियो भएको र आर्थिक सम्बन्ध सबलीकरण गर्ने ठूलो सम्भावना भएको बताउनुभयो ।
उहाँले भियतनामको व्यापारिक समुदाय उत्कृष्ट रहेको र उनीहरुको ऊर्जाले नेपाललाई अभिप्रेरणा दिएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले अतिकम विकसित मुलुकबाट सकेसम्म छिटो अगाडि बढी मध्यम आययुक्त मुलुक बन्ने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्ने बताउनुभयो । सम्मेलनमा भियतनामसहित ४० मुलुकको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्