
काठमाडौं,२० बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कोशी अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ ।
कोशी अस्पताल विराटनगरको परिसरमा प्रसूति सेवा गृहको शिलान्यास गर्दै उहाँले अस्पतालमा नयाँ उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री यादवले मेडिकल कलेज र सरकारी अस्पतालबाट आमनागरिकले सस्तो र प्रभावकारी स्वास्थ्य सेवा पाएको उल्लेख गर्दै नयाँ स्वास्थ्य नीतिमा सरकारी अस्पतालको सेवाको गुणस्तरमा जोड दिइने बताउनुभयो ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व क्षेत्रको विराटनगर अहिले स्वास्थ्य केन्द्रको रुपमा विकसित भइरहेको बताउँदै कोशी अस्पतालले भोगेका समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा पुष्पा चौधरीले पुरानो संरचनाका कारण अत्यधिक भीड हुने कोशी अस्पताललाई समय सापेक्ष बनाउनुपर्छ भन्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपालमा दातृ निकायबाट प्राप्त हुने सहयोग समयमै सदुपयोग हुने वातावरण बन्नुपर्ने उल्लेख गर्नुभयो । कोशी अस्पतालका प्रमुख डा रोशन पोखरेलले पुरानो संरचना, अत्यधिक भीड र जनशक्तिको अभावमा पनि कोशी अस्पताल जनताका सेवामा समर्पित रहेको चर्चा गर्नुभयो ।
अमेरिकी सेनाका प्रतिनिधि जी हेरीले अमेरिकी सेनाको सहयोगमा बन्ने प्रसूति गृहले जनतालाई स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । एक वर्षको अवधिमा अमेरिकी सेनाको रु १२ करोड लागतमा १०० श्ययाको सो प्रसूति गृह निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो ।



















प्रतिक्रिया दिनुहोस्