
काठमाडौँ, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीका प्रस्ताव पेश गर्ने समय आज अन्तिम दिन रहेको छ । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी नेकपाले अझै ठोस निर्णय गर्न सकेको छैन ।
पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा ठोस निर्णय लिन नसकेको हो । यसका लागि नेकपाका प्रदेशका पार्टी पदाधिकारीको बैठक बसिरहेको छ ।विराटनगरको रोडशेषस्थित होटल बिगमा बसिरहेको बैठकमा पार्टीका प्रदेश इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देभराज घिमिरे, मुख्यमन्त्री शेरधन राई र पार्टीका सचिव सुरेशकुमार राई सहभागी छन् ।
प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव पेश गर्न सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार अन्तिम समयसीमा दिएका छन् । सत्तारुढ दल नेकपाले बुधबार बिहानैदेखि प्रदेशका पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुसँग विभिन्न चरणमा छलफल गरेको थियो। तर, अझै पनि कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी नेकपाका नेताहरूले बताएका छन् ।
संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्ने व्यवस्था गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्