कविराज विसी,
काठमाडौँ १२ वैशाख । नेपालमा गणतन्त्र स्थापना भएपछि कुनै पनि राष्ट्रपतिले पहिलो पटक उत्तरी छिमेकी मित्र राष्ट्र चीनको पहिलो राजकीय भ्रमण गरेका थिएनन् । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीन पुगे पनि उनको भ्रमण राजकीय बन्न सकेको थिएन ।
तर, यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी चिनिया राष्ट्रपति सि जिनपिनको निमन्त्रणामा चीनको भ्रमण सुरु गरेकी छिन् । राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल वायुसेवा निगमको चार्टर विमानबाट मध्य चीनको सान्सी प्रान्तको सियान शहरमा पुगेकी छिन् ।
सियान सहरमा प्राचिन चिनिया सभ्यताको भव्यता रहेको छ । इतिहासलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने कुनै पनि तथ्य खोज्नु पर्यो भने सियान शहरलाई सम्झिनु पर्छ भन्छन् चिनियाहरु स्वयंले । राष्ट्रपति भण्डारी बिहिबार अपरान्हसम्म सियानमा रहनेछिन् । उनले सियानको ऐतिहासिक म्युजियमको भ्रमण गर्नेछिन् भने सान्सी प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु एवं सरकारी अधिकारीले राष्ट्रपति भण्डारीलाई भेट गर्नेछन् ।
बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति चीन गएकी हुन् । नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट चीन प्रस्थान गर्नुअघि राष्ट्रपतिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित सरकारका वरिष्ठ मन्त्री र अधिकारीहरुले विदाई गरेका थिए । त्यसअवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । विदाई समारोहमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
मुलुकमा गणतन्त्र आएपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो । नेपाल एयरलाइन्सले भीभीआईपी उडानमा एयरबस ३२० पठाएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए । राष्टपति भण्डारीको टोली चीन उड्ने क्रममा बुधबार बिहान भीभीआईपी उडानको आधाघण्टा अघि र पछि सबै व्यवसायिक उडानहरु रोकिएका थिए ।
भ्रमणका क्रममा बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी तथा राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी बेइजिङ पुगेपछि चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् । उनी अन्तराष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनेछिन् भने त्यहाँ रहेको नेपाली मन्डपको अवलोकन गर्ने कार्यक्रम छ । चीन भ्रमणका क्रममा समकक्षी सि जिनपिनसंग उच्चस्तरीय भेटवार्ता हुनेछ ।
दुवै देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । राजधानी बेइजिङमा रहँदा उनले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्नेछिन् । यस्तै, राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।
राष्ट्रपति भण्डारी बेइजिङका सबै कार्यक्रम सकेपछि तिब्बतको ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । ल्हासामा समेत त्यहाँका नेताहरुले राष्टपतिसंग भेटवार्ता गर्नेछन् । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि, संचारकर्मी केही व्यवसायीहरु रहेका छन् । राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् ।



















प्रतिक्रिया दिनुहोस्