
काठमाडौं,२५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गदै उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।
उहाँले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण बनाउन नसकेकै कारण मुलुक पछि परेको पनि स्पष्ट पार्नु भयो । उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पनि स्मरण गराउनु भयो ।
उहाँले मुलुकलाई समृद्ध बनाउन पनि उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने आवश्यक्ता पनि औंल्याउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गर्नु भयो ।
उहाँले दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको स्पष्ट पार्नु भयो । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गर्नु भयो ।
उहाँले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गर्नु भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्