
काठमाडौं , १५ चैत । सरकारले विभिन्न परियोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि लगानी सम्मेलनको आयोजना गरेको छ । सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरेको जनाएको छ । सम्मेलनमा सहभागी हुन ४० देशका पाहुना काठमाडौं आइपुगेका छन् ।
सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बोर्डका कर्मचारी खटिएका छन् । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्तदुरुस्त बनाइएको छ ।
२ वर्ष अघि सरकारले ठुलो तयारीका साथ गरेको लगानी सम्मेलनमा लगानीको लागि प्रतिवद्धताको बाढि नै आएको थियो । तत्कालिन सरकारले सोचेभन्दा बढि प्रतिवद्धता अँएपछि नेपालमा लगानी गर्न लगानीकर्तँ उत्साहित छन् भन्ने देखिएको थियो । तर दुईवर्षको बीचमा प्रतिवद्धताको १० प्रतिशत समेत कार्यान्यनमा आउन सकेन । यसको सोझो अर्थ, अझै पनि नेपालमा लगानी गर्नेहरु बिश्वस्त हुन नसकेको स्पष्ट भयो । दुई वर्ष अघि आएको १३ खर्ब ५२ अर्ब रुपैयां बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आयो त्यसबाट नेपालले खासै लाभ लिन सकेन ।
सरकारी तथ्यांकलाई हेर्ने हो भने गत २० वर्षको समय १ खर्ब ७० अर्ब बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । सरकारले अहिले ३० खर्वको लगानी ल्याउने भनेको छ । यद्यपी, विगतको व्यवहार हेर्दा व्यवहारिक कार्यान्यनमा समस्या आउने पो होकी भन्ने आशंका व्याप्त छ । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भने बिगतको भन्दा अब हुन लागेको फरक भएको दाबी गर्छन् । शुक्रबार र शनिबार हुन लागेको लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन अर्थमन्त्री डाक्टर खतिवडाले आग्रह गरेका छन ।
अझैपनि बिदेशी लगानीकर्ताहरु नेपालमा लगानीको लागि आंखा लगाइरहेका छन । तर बिगतको सम्मेलनलाई बिष्लेषण गर्ने हो भने सम्मेलनमा प्रतिवद्धता जनाएका अधिकांश विदेशी लगानीकर्ता लगानी ल्याउने प्रक्रिया सामेल भएनन् । तर बिगतको भन्दा परिस्थिती फरक भएको भन्दै लगानी भित्राउने उत्तम समय भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा बताउछिन ।
अघिल्लो पटकको लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढि ८ खर्ब ३० अर्बको प्रतिवद्धता आएको थियो, तर, लगानी हुन सकेन । यसपटक समेत ६ सय भन्दा बढि स्वदेशी तथा बिदेशी लगानीकर्ता सहभागी हुंदैछन् । यिमध्ये बैदेशिक लगानीकर्ता नेपालको जलबिद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न बढी नै इच्छुक देखिएका छन ।
लगानी सम्मेलनमा ७७ वटा परियोजना विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गरिदै छ । सरकारले कानुनहरु धमाधम परिर्वतन गरेर भए पनि लगानीकर्तालाई नेपालमा लगानी मैत्री वातावरण बनेको छ भनेर देखाउन खोजेको छ । यद्यपी, कतिपय स्वदेशी लगानीकर्ता भने अझै पनि वातावरण नबनेको बताउंछन् ।
अहिलको सम्मेलनबाट बिगतकै जस्तो प्रतिवद्धतामा सीमित हुने परम्पराको अन्त्य हुनुपर्ने आवश्यक छ । लगानी सम्मेलन अघि लगानीमैत्री वातावरणको लागि ऐन कानुनमा सुधार गरेर विगतमा जस्तो प्रतिवद्धता मात्र आउने अवस्था हटाउन सरकारले गरेको भरमग्दुर प्रयास सकारात्मक छ । यद्यपी, नेपालको राजनीतिक स्कुलिङका कारण अझै पनि विदेशी लगानीकर्ता आउने बित्तिकै केन्द्रीय नेता, स्थानीय कर्मचारीदेखि टोले गुन्डाले लगानीकर्तालाई दिने आर्थिक र मानसिक तनाव बन्द हुन सकेन भने अवस्था पुरानै दिशातिर फर्कने सक्छ । जसले गर्दा नेपालमा उद्योग धन्दा फस्टाउने वातावरणप्रति अन्तराष्ट्रिय लगानीकर्ता पनि विश्वस्त हुन सक्नेछैनन् ।
नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक अझै बन्न नसकेको सत्य हो । ऐन नियम कानुन राम्रो छ, मुलुकमा राजनीतिक स्थायित्व छ भनेपनि बिदेशी लगानीकर्ता आउने बित्तिकै वातावरण बिगार्ने प्रयास तलदेखि माथिसम्म हुने गरेकै कारण नेपालमा लगानीकर्ता विश्वस्त हुन नसकेका हुन् । यसकारण, सरकारले संसदबाट बनाएको ऐनसंगै आफ्नै नेता कार्यकर्ता र टोले गुण्डा एवं सरकारी कर्मचारीलाई समेत लगाम लगाउन जरुरी छ ।



















प्रतिक्रिया दिनुहोस्