काठमाडौँ, १५ चैत । राजनीतिक स्थिरतासंगै बनेको सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न आगामी शुक्रबार र शनिबार ५ वर्षे स्थायी सरकारले नेपालमा तेस्रो लगानी सम्मेलन गर्र्दैछ ।

सम्मेलनमा स्वदेशी तथा बिदेशी उद्योगी व्यवसायीहरुले नेपाल लगानी सम्मेलनमा सहभागिता जनाउने छन् । सम्मेलनमार्फत ७७ वटा परियोजनाको लागि करिब ३० खर्वको लगानीको प्रतिवद्धता आउने अपेक्षँ गरिएको छ ।
आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन गईरहेको नेपाल लगानी सम्मेलनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल एवं ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने निश्चित भएको छ । दुई दिने सम्मेलनमा नेपाल सरकार, लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत हुने भएका छन । लगानी सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।
विगतका लगानी सम्मेलन कागजी प्रतिवद्धतामा मात्र सीमित थिए । संक्रमणकालीन अस्थिर राजनीतिक अवस्था, लगानीमैत्री कानुनको अभाव, असुरक्षा आदि कारण लगानीकर्ता त्यति उत्साहित देखिएनन् । तर, अहिले दुई तिहाईको स्थिर सरकार छ । लगानीमैत्री कतिपय ऐनहरु बनेका छन् । सरकारले पुर्ण सुरक्षाको ग्यारेन्टी लिएको छ । यसकारण यो लगानी सम्मेलन विगतको निरन्तरता नहुने सरकारको विश्वास छ । यसैकारण सरकारले सम्मेलनलाई यौटा उत्सवको रुपमा लिएको छ । यसअघि भएका लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउन पनि सम्मेलनको आयोजना गरिएको सरकारी दाबी छ ।
सम्मेलनलाई लक्षित गरी सरकारले केही महत्वपूर्ण ऐन परिमार्जन गरेर लगानीमैत्री बनाएको छ । अझै पनि कैयौं ऐन पारित हुन बांकी छन् । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गर्नुले लगानीको वातावरण बढेको उद्योगी व्यवसायीको बुझाई छ ।
स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्नुको साथै स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्शको वातावरण बन्ने भएकोले पनि लगानी सम्मेलनप्रति स्वेदशी उद्योगी व्यवसायीहरु समेत उत्साहित भएका हुन् ।
शुक्रबार र शनिबार हुने सम्मेलनको प्रधानमन्त्री के पी शर्मा ओलीवाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई विपक्षी दलका नेताले समेत सम्बोधन गर्नेछन् । सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ । विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लगानी सम्मेलनलाई हेरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्