काठमाडौं,१७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदको अवरोध भए पनि राष्ट्रियसभाको बैठक जारी छ ।
सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले समय दिएपछि काँग्रेस सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षको नाताले सदन चलोस् भन्ने चाहे पनि सरकार र डा गोविन्द केसीबीच गत साउन १० गते भएको सहमति किन कार्यान्वयन भएन भनी प्रश्न गर्नुभयो ।
सरकारले विद्रोही पक्षसँग सम्झौता गरेर कार्यान्वयन गर्दैन भने यो कस्तो सरकार, पटक पटक सहमति गर्ने तर कार्यान्ययन नगर्ने ? गोविन्द केसी काङ्ग्रेस वा कम्युनिष्ट होइनन्, चिकित्सा शिक्षा सुधारका लागि मूल्यमान्यता स्थापना गर्न लाग्नुभएका व्यक्तित्व हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
निर्मला पन्तदेखि प्रा डा केसीसम्मको प्रकरणमा सरकार निरीह बनेको आरोप सांसद देवले लगाउनुभयो । सोह्रौँ पटक सत्याग्रहमा रहनुभएका प्रा डा केसीको माग र यसअघिको सहमति वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने काङ्ग्रेसको मान्यता रहेको उहाँले सभामा जानकारी दिनुभयो ।
राष्ट्रियसभा परिपक्व भएकाले प्रतिनिधिसभाबाट भएका गल्ती एवं कमजोरीलाई वार्ताका माध्यमबाट विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने काङ्ग्रेसको अडान रहेको सांसद देवले बताउनुभयो ।
वार्ताका माध्यमबाट विधेयक परिमार्जन नभएसम्म विरोध जारी रहने भन्दै काङ्ग्रेस सांसद उठेपछि अध्यक्ष तिमल्सिनाले बस्न उहाँहरुलाई पटक पटक आग्रह गर्नुभएको थियो । प्रतिपक्षीका दलका सांसद नबसेपछि विरोधका बीच सभाको प्रक्रिया अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्