काठमाडौं,१९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाईप लाईन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलो मुक्त सहर बनाउन कठिनाई भईरहेकोे स्पष्ट पार्नु भएको छ ।
मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गर्नु भयो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन आफूले प्रयास गरिरहेको पनि बताउनु भयो ।
मेयर शाक्यले आफूले १७ महिना भित्र काठमाडौं महानगरपालिका भित्र धेरै काम गरेको दावी पनि गर्नु भयो । आफ्नो जिम्मामा रहेको सहायक सडकको पुनर्निर्माण धेरै गरेको उहाँको दावी छ ।
मेयर शाक्यले सम्पदा पुनर्निर्माणको कामलाई पनि धेरै अघि बढाइएको दावी गर्नु भयो । उहाँले रानी पोखरी पुनर्निर्माणको काममा पनि ढिलाई नहुने योजना अघि सार्नु भयो । पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल गरेर रानी पोखरी पुनर्निर्माणको काम सुरु गर्ने मेयर शाक्यको योजना छ । उहाँले काष्ठ मण्डप र धराहरा पुनर्निर्माणको काम सुरु गरिएको पनि स्मरण गराउनु भयो ।
मेयर शाक्यले मापदण्ड विपरित बनेको भवनलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । उहाँले चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनर्निर्माण र सम्पदा पुनर्निर्माणको कामलाई जोड दिएको पनि स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्