ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा


एबीसी न्यूज
बैशाख १९, २०८३ शनिबार  ७ : २६ बजे

कविराज वि.सी. । शुक्रबार बिहानको सिमसिमे पानीमा बल्खुको सुकुमबासी बस्ती डोजरको गर्जनले थरथराइरहेको थियो। टहराहरू गर्ल्यामगुर्लुम ढल्दै थिए। भागदौड, चिच्याहट र धुलोको बादलले बस्ती ढाकिएको थियो। त्यही बेला, नजिकै बागमती–बल्खु दोभानमा एउटा कालो वस्तु पानीमा तैरिरहेको देखियो। सुरुमा स्थानीयले फोहोरको थुप्रो ठाने। तर जब त्यो पल्टियो र एउटा हात माथि उठ्यो, तब सबैको रगत ठण्डा भयो – त्यो ६१ वर्षीय इन्द्रबहादुर राईको निर्जीव शरीर थियो।

“घर भत्काएको कसरी हेर्नु !” यो वाक्य इन्द्रबहादुरको मुखबाट शुक्रबार बिहान बारम्बार निस्किरहेको थियो। नाम्लो काखीमा च्यापेर उनी बस्तीभरि बर्बराउँदै हिँडिरहेका थिए। फलफूल मण्डीमा दशकौंदेखि भारी बोकेर परिवार पालेका राई डोजरको आवाज सुन्नेबित्तिकै विक्षिप्त बने। छिमेकीहरूले उनको यो अवस्थालाई रक्सीको नशा भनेर सामान्य ठाने। तर केही घण्टामै उनी खोलामा बगिरहेका थिए।

इन्द्रबहादुर खोटाङको पहाडबाट सपना बोकेर काठमाडौं छिरेका थिए। दुई दशकभन्दा बढी समयसम्म बल्खु फलफूल मण्डीमा सयौं किलोको क्रेट पिठ्यूँमा बोके। त्यही मेहनतले चार छोरी र एक छोरालाई हुर्काए। सुकुमबासी बस्तीको सानो टहरो नै उनको सारा संसार थियो। “राई दाइको काँध र नाम्लोले नै परिवार धानेको थियो,” छिमेकी प्रज्वल लिम्बूले सुनाए। घर भत्किने सूचना आएपछि उनी रातभरि चिन्तामा थिए। श्रीमती सरिता राई भक्कानिँदै भन्छिन्, “बिहानैदेखि बर्बराउँदै हिँड्नुभएको थियो। घर भत्काएको हेर्न सक्नुहुन्न भन्नुहुन्थ्यो।”

डोजरले बस्ती भत्काउँदै गर्दा सन्तोष तामाङ सामान बटुल्दै थिए। उनको नजर खोलातिर पर्यो। “पानीमा कालो प्लास्टिक तैरिरहेको जस्तो लाग्यो,” उनले भने, “तर पल्टिएपछि हात देखियो।” प्रहरीले शव निकाल्दा बस्तीका मानिसहरू स्तब्ध थिए। छोरा रुँदै आएपछि मात्र पहिचान भयो। शव पोस्टमार्टमका लागि महाराजगन्ज पठाइएको छ। मृत्युको कारण आत्महत्या हो कि दुर्घटना, अनुसन्धानले मात्र पुष्टि गर्नेछ। तर एउटा कुरा स्पष्ट छ- डोजरको डरले एउटा जीवनको डोरी चुँडियो।

बुढेसकालको उठीबास

बल्खुको उस्तै एउटा भग्नावशेष छेउमा ८२ वर्षीया कुमारी तामाङ बसेकी थिइन्। कालो–सेतो कुकुर ‘टेनु’ लाई बोटलबाट पानी खुवाउँदै थिइन्। उनको टहरो भर्खरै डोजरले ध्वस्त बनाएको थियो। श्रीमान् ७० वर्षीय कृष्ण भुजेल फाटेको छाता ओढेर आइपुगे। दाँत झरेका, औंलाहरू बिग्रिएका, औषधिको पोको बोकेका उनी २२ वर्षदेखि यहाँ थिए। बालुवा झिक्ने, ज्याला मजदुरी गर्ने। छोरा विवाहित तर अस्वस्थ।

“हामी जता जान्छौं त्यतै जाने भन्छ,” कृष्णले भने। उनीहरू होल्डिङ सेन्टर जान मानेका छैनन्। “श्रीमतीबाहेक कसैलाई चिन्दिनँ त्यहाँ गएर के गर्ने?” उनी प्रश्न गर्छन्। दिउँसो १२ बजेसम्म उनीहरूले चिया–बिस्कुट मात्र खाएका थिए। फलाम बेचेर आएको १०० रुपैयाँले त्यो पनि किनेका थिए। दराज, किचेन र्याक, कपडा सबै भग्नावशेषमा पुरिए।

विष्णुमती किनारको ४१ वर्षे कथा

विष्णुमती किनारमा पनि डोजरले उस्तै कहानी लेखिरहेको थियो। ५७ वर्षीया सुशीला श्रेष्ठ १६ वर्षको उमेरमा यहाँ आएकी थिइन्। आमाबुवा यहीँ बिते। परिवारको एउटा अपाङ्ग सदस्यसँग उनले भाँडा माझेर, चिया बेचेर सानो छाप्रो बनाएकी थिइन्। “तीन पुस्ता यहीँ बित्यो, अब सडकको बास,” आँसु पखाल्दै उनले भनिन्।

३५ वर्षीया सोनी श्रेष्ठ सात पुस्तादेखि यहीँ भएको दाबी गर्छिन्। १० जना परिवार अहिले खुला चौरमा। “सुत्केरी आमाहरू बालबच्चा बोकेर सडकमा रोइरहेका छन्,” उनी भन्छिन्, “हामीले नेताहरूलाई भोट दिएर जितायौं, उनीहरूले सडकमा रुवाए।”

४० वर्षदेखि बस्दै आएका राजकुमार पुरी, अन्तरीमाया स्याङ्तानलगायत धेरैले आफैं माटो थपेर बस्न लायक बनाएको ठाउँ एकै दिनमा गुमाए। “प्लास्टिकको झुप्रोमा पनि लोभ लाग्यो सरकारलाई?” उनीहरूको आक्रोश छ।

विकासको नाममा उठीबास

सरकारले खोला किनार सुन्दर बनाउने अभियान चलाइरहेको छ। तर सुकुमबासीहरू भन्छन् — पूर्वसूचना, वैकल्पिक व्यवस्थापन र मानवीय व्यवहार कहाँ छ? धेरैसँग नागरिकता, मतदाता परिचयपत्र छन्। वर्षौंदेखि कागजात पेस गर्दा पनि केही भएन। अब बालबच्चासहित सडकमा।

इन्द्रबहादुर राई काठमाडौंको मुटुमा बग्ने बागमतीमा बगेर गए। उनी जस्ता हजारौंले यो सहरको सेवा गरे — फलफूल बोके, बालुवा झिके, निर्माणमा पसिना बगाए। तर सहरले उनीहरूलाई कहिल्यै आफ्नो ठानेन।

डोजरको आवाज अझै गुन्जिरहेको छ। तर त्यसले ढालेका टहराभित्रका सपना, पीडा र जीवनहरूको कथा कहिले बग्ने हो? बल्खु र विष्णुमतीको किनारमा अहिले आँसु र धुलो मिसिएको छ। एउटा बुढेसकालको टहरो ढल्दा एउटा जीवन पनि बग्यो। विकासको यात्रा यति महँगो हुनुपर्छ र?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com