
काठमाडौं,१८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गर्नु भएको छ ।
वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गर्नु भयो । आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नु भयो ।
संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उपनेता नेम्वाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्