सल्यान,१८ भाद्र । अविरल वर्षा सगैं आएको पहिरोले एकै घरका तीन बालबालिका पुरिएका छन् ।
बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी आएको पहिरोले दुई छोरी एक छोरा पुरिएका हुन ।
पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।
बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक ओलीले जानकारी दिएका छन ।
घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष ओलीले बताएका छन । ‘पहिरो खस्नेक्रम अहिले पनि नरोकिएको उनले बताए ।
पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।
घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझ्न नसकिएको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले जानकारी दिए ।
घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्