काठमाडौं, १६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै स्ट्रेट अफ होर्मुज खुलाउन चाहन्छ । अहिले इरान आफ्नो नेतृत्व अवस्था सम्हाल्ने प्रयासमा रहेको र हालको अवस्थाबाट बाहिरिन चाहेको ट्रम्पको भनाइ छ ।यता इरानले भने ट्रम्पको दबाब नस्वीकार्ने स्पष्ट पारेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अरू देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको बताए । साथै, अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि उनले बताएका छन् ।अमेरिका, इरान र इजरायलबीच हाल युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि भइरहेको वार्ताले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन ।स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट इन्धन ढुवानी अझै पनि सहज हुन सकेको छैन । स्ट्रेट अफ होर्मुज विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । यहाँबाट ठूलो मात्रामा तेल र ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा असर पर्छ ।
इरानले अमेरिकासँग राख्यो तीन सर्त, ट्रम्पले गरे अस्वीकार
इरानले अमेरिकासँग वार्ताका लागि तीन सर्त अघि सार्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकाले गरेको नाकाबन्दी हटाउन आग्रह गरेको छ ।
द न्यूयोर्क टाइम्स का अनुसार तीन इरानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै यो जानकारी दिइएको हो । रिपोर्टअनुसार, इरानले आइतबार अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव दिएको थियो ।
यस प्रस्तावमा मुख्य रूपमा तीन सर्तहरू समावेश थिए—
१। अमेरिका–इजरायलसँग चलिरहेको युद्ध अन्त्य होस् र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिइयोस्
२। त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी हटाओस्, होर्मुज खुलोस् र जहाजहरूको आवागमन पुनस् सुरु होस्
३। अन्त्यमा मात्र परमाणु कार्यक्रम र युरेनियम समृद्धीकरणजस्ता विवादित विषयमा वार्ता होस् ।
तर ट्रम्प यो प्रस्ताव स्वीकार गर्न तयार छैनन् । सीएनएनका अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्ने ट्रम्प प्रशासनको धारणा छ । त्यसैले यी दुवै विषयको समाधान एकैपटक हुनुपर्ने उनीहरूको अडान छ ।
इरानको परमाणु कार्यक्रममा अड्किएको वार्ता
ट्रम्पले दुई दिनमै दोस्रोपटक इरानको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्ला केही हप्तादेखि इरान र अमेरिकाबीच पाकिस्तानमार्फत प्रस्ताव आदान–प्रदान भइरहेको भए पनि परमाणु कार्यक्रमसँग सम्बन्धित महत्वपूर्ण विषयमा सहमति बन्न सकेको छैन ।
इरानले २० वर्षसम्म आफ्नो परमाणु कार्यक्रम स्थगित गरोस् र आफूसँग रहेको ४४० किलो समृद्ध युरेनियम हस्तान्तरण गरोस् भन्ने अमेरिकाको माग छ । इरानले यी मागहरू अत्यधिक र अनुचित भन्दै अस्वीकार गरिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्