
काठमाडौं, १४ साउन । भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब सर्वसाधारणको प्रयोगका लागि बन्द गरिने भएको छ ।
सेनाले यही भदौ १ गतेदेखि लागू हुने गरी ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गरेको हो ।
राष्ट्रिय सुरक्षामा भन्दा पनि व्यापारिक क्षेत्रमा हात हाल्न थालेको भन्दै आलोचित बन्दै आएको सेनाले भाडामा लगाएर पैसा असुल्दै आएको ‘क्लब’ बन्द गर्न लागेको हो ।
नेपाली सेनाका निमित्त प्रवक्ता विजय थापाले यो विषयमा निर्णय भइनसकेको भए पनि बन्द गर्ने तयारी भने भएको जानकारी दिनुभयो।
तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराको कार्यकालदेखि आर्मी अफिसर्स क्लब सर्वसाधारणलाई पनि भाडामा दिन थालिएको थियो ।
‘अहिले सेनाकै कार्यक्रमहरुको लोड बढेको र सरकारी कार्यक्रमहरु बढ्दै गएकाले सर्वसाधारणलाई दिन बन्द गर्न थालिएको हुन सक्छ’, निमित्त प्रवक्ता थापाले भन्नुभयो ।
सेनाले सर्वसाधारणलाई एउटा हल भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । सेनाले नै कार्यक्रम गर्दा भने एक दिनको १० हजार रुपैयाँ तिर्ने गर्दथ्यो । क्लबमा दुई वटा हलहरु छन् ।
सर्वसाधारणलाई हल दिन बन्द गर्ने निर्णय पछि एउटा हल जुनियर अफिसर्स र अर्को हल सिनियर अफिसर्सका लागि कार्यक्रम तथा पार्टी आयोजना गर्न दिने तयारी सेनाले गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्