बिहार, ८ साउन । भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको हुन सक्ने शंकामा बिहार प्रहरीले बाल गृहमा अनुसन्धान गरेको छ ।
टाटा इन्स्टिच्युड अफ सोसल साइन्सेज मुम्बईले आफ्नो एक रिपोर्टमा बालिका गृहमा रहेका छात्राको यौन शोषण भएको भन्दै रिपोर्ट सार्वजनिक भएपछि बिहार प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
बालिका गृहमा बस्दै आएकी एक छात्रासँग सोधपुछको क्रममा एक बालिकाको हत्या गरी गाडिएको हुन सक्ने जानकारी आएपछि भवनको वरपर खनिएको प्रहरीले जनाएको छ ।
साहू रोडमा रहेको एक भवनमा उत्खनन् भइरहेको छ भने पूरै क्षेत्र प्रहरीको अनुसन्धानको घेरामा आएको छ ।
सोमबार प्रहरीले सात फिट गहिराइसम्म खनेको थियो, तर केही भेटिएन । बिहार सरकारको समाज कल्याण विभागको संरक्षणमा सञ्चालित बालिका गृह गएको दुई महिनादेखि चर्चामा छ ।
गएको वर्ष टाटा इन्स्टिच्युड अफ सोसल साइन्सेजले बिहारका यस्तै खालका गृहको सामाजिक अडिट गरेको थियो । गएको मे २८ मा मुजफ्फरपुर नगर प्रहरी चौकीमा समाज कल्याण विभागको निर्देशनमा उजुरी दर्ता भएको हो ।
मुजफ्फरपुरकी वरिष्ठ प्रहरी अधिकारी हरप्रीत कौरले भनेकी छन्, ‘मेडिकल रिपोर्टमा २९ छात्रामाथि यौन शोषण भएको हुन सक्ने देखिएको छ ।’ घटनाको अनुसन्धानको क्रममा बालिका गृहका सञ्चालक ब्रजेश ठाकुरसहित १० जना पक्राउ परेका छन्, र सातजना महिला छन् ।
बालिका गृहमा बस्दै आएका ४४ मध्ये ३४ छात्राको स्वास्थ्य परीक्षण गरिएको थियो । यो गृहमा ६ देखि १८ वर्षका अनाथ, परिवारबाट विछोडिएका तथा मानसिक रुपले अशक्त बालिका तथा किशोरी बस्दै आएका थिए । अहिले सबै बालिकालाई पटना, मोकामा र मधुबनीमा रहेका केन्द्रमा पठाइएको छ भने बाल समितिका अध्यक्ष दिनेश बर्मा फरार रहेका छन् ।
यो बालिका गृहबाट सन् २०१३ देखि २०१८ को बिचमा ६ बालिका हराएको र मधुबनी पठाइएकी एक बालिका पनि हराएको आरोप छ ।
बलात्कार भएको आशंका गरिएका बालिकाका बारेमा विस्तृत जानकारी दिइएको छैन । आरोपितमा धेरै महिला रहेकाले बलात्कारमा को संलग्न थिए भन्ने पनि खुलेको छैन ।
स्थानीय पत्रकार सन्तोष सिंहले भने, ‘यस्तो दुष्कर्म गर्ने व्यक्ति को थिए भन्ने बारे प्रहरीले केही बताएको छैन । प्रहरीले बालिकाको बयानकै आधारमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानको दायरा बढाउने हो भने घटनासँग सम्बन्धित जानकारी थप प्राप्त हुने थियो र धेरै ठूलाबडा भनिएकाहरुको मुखौटो उत्रिने थियो ।’
तर प्रहरी अधिकारी हरप्रीत कौर भने प्रमाण जसको विरुद्धमा आउँछ उसलाई कारवाही गरिने र त्यसबाट कोही पनि उम्किन नसक्ने बताउँछिन् । मुख्य अभियुक्त ब्रजेश ठाकुरकी छोरी नीतिले भने आफ्ना बुवालाई फसाइएको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्