काठमाडौं । झण्डै दुई तिहाई बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनको सबै गृहकार्य पूरा गरेको छ । आगामी चैत १३ गते शुक्रबार रामनवमीको शुभ साइतमा प्रधानमन्त्री पदको सपथ लिने तयारीमा रहेका बालेन र पार्टी सभापति रवि लामिछानेबीच १५ सदस्यीय मन्त्रिपरिषद् बनाउने औपचारिक सहमति भएको छ ।
बालेन निकटस्थ स्रोतका अनुसार दुवै नेताले लामो छलफलपछि मन्त्रिपरिषद्को पूर्ण सूची टुंग्याएका छन् । स्रोतले एबीसी न्यूजलाई दिएको जानकारीअनुसार प्रस्तावित मन्त्रिपरिषद् यसप्रकार छ :
- प्रधानमन्त्री तथा रक्षामन्त्री : बालेन्द्र शाह (बालेन)
- गृहमन्त्री : डिपी आर्याल
- अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
- परराष्ट्रमन्त्री : शिशिर खनाल
- सञ्चार तथा सूचना प्रविधिमन्त्री : मनिष झा
- जलस्रोत तथा सिँचाइमन्त्री : अमरेश सिंह
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री : डा. सुनिल लम्साल
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : सस्मित पोखरेल
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : सोविता गौतम
- पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री : सुधन गुरुङ
- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : यज्ञमणि न्यौपाने
- युवा तथा खेलकुदमन्त्री : बल्लु गुप्ता
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री : तोसिमा कार्की
- मन्त्री (मन्त्रालय तोकिने बाँकी) : दीपक बोहरा
(दीपक बोहरालाई दोस्रो मन्त्रीको रूपमा समेत उल्लेख गरिएको छ, जसलाई अन्तिम रूप दिँदा मन्त्रालय तोकिन बाँकी छ ।)
आशिका तामाङले मन्त्री बन्न निकै लबिङ गरिरहेको भए पनि उहाँको नाममा कुनै निर्णय नभएको स्रोतले स्पष्ट पारेको छ ।
यसैबीच काठमाडौंबाटै निर्वाचित गणेश पराजुली र विराजभक्त श्रेष्ठलाई के गर्ने भन्ने बारेमा सल्लाह हुन बांकी रहेको बताएको छ ।
सभामुख र उपसभामुखमा सहमति
बालेन र रविबीचको सहमतिमा संसद्को सभामुखमा पूर्व उपसभामुख इन्दिरा रानामगरको नाम तय भइसकेको छ । उपसभामुख भने अझै अनिर्णीत छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने कि अर्को प्रतिपक्ष नेकपालाई दिने भन्नेमा छलफल जारी छ ।
शक्ति केन्द्रबाट स्वीकृति, मन्त्रीहरूलाई ‘पहिलो दिनदेखि काम थाल’ निर्देशन
स्रोतका अनुसार मन्त्रिपरिषद्का प्रस्तावित सदस्यहरूको नाम पूर्व स्वीकृतिका लागि शक्ति केन्द्रमा पठाइएको थियो र सबैबाट स्वीकृति प्राप्त भइसकेको छ । एक प्रस्तावित मन्त्रीले एबीसीलाई बताएअनुसार, “पहिलो दिनदेखि नै काम थाल्ने गरी कार्ययोजना बनाउन र निजी सचिवालयको टिम छनोट गर्न भनिसकिएको छ ।”
बालेनको सचिवालय टिम तयार
प्रधानमन्त्री बालेनले आफ्नो मन्त्रिपरिषद् सचिवालयका लागि आफ्ना अन्नपूर्ण सहयोगी कुमार व्यञ्जनकार, भूपदेव शाह र प्रदीप परियारलाई जिम्मेवारी दिइसकेका छन् । यसैगरी टिम बालेनमा सामेल हुन पूर्व सल्लाहकार गोविन्द नारायण (सुशील कार्की निकट) ले पनि प्रयास गरिरहेको बुझिएको छ ।
मन्त्रालय संख्या र गाभ्ने काम जारी
बालेन टिमले अहिले मन्त्रालयहरू गाभेर १५ बनाउने कि १८ मा राख्ने भन्नेमा अन्तिम गृहकार्य गरिरहेको छ । मन्त्रालयको संख्या र सम्मिलन टुंगिएपछि केही मन्त्रीको विभाग र जिम्मेवारीमा सामान्य फेरबदल हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।
यो सहमतिपछि रास्वपाको १५ सदस्यीय मन्त्रिपरिषद् नेपालको राजनीतिक इतिहासमा नयाँ प्रयोग बन्ने देखिन्छ । युवा, प्राज्ञिक र स्वतन्त्र छविका व्यक्तिहरूको बाहुल्य रहेको यो टिमले ‘काम गर्छौं, कुरा गर्दैनौं’ भन्ने बालेनको पुरानो शैलीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
चैत १३ को सपथसँगै नेपालले नयाँ सरकार पाउने निश्चित भएको छ । अब बाँकी छ – मन्त्रालय विभाजनको अन्तिम टुंगो र शपथग्रहणको औपचारिक कार्यक्रम । टिम बालेनले पहिलो दिनदेखि नै सडक, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता जनताका आधारभूत मुद्दामा काम थाल्ने संकेत दिइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्