
काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको गरी मनाइँदैछ ।
संस्थापक नेताको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहितका बामपन्थी दल तथा तिनका भातृ संस्थाले देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
स्मृति दिवसका अबसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंको चम्पादेवीमा पुष्पलालको प्रतिमामा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले पुष्पलालको सपनालाई साकार पार्नका लागी राष्ट्रिय एकताका साथै कम्युनिष्ट शक्तिलाई एकतावद्ध पार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाले कम्युनिष्ट र जनतासंगको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय र जातिय भावनालाई समेट्दै सरकार अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नेपाली राजनीतिमा पुष्पलाल श्रेष्ठले प्रतिपादन गर्नभएको दृष्टिकोण केवल पञ्चायती व्यवस्थाको समयमा मात्र नभएर अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाको भनाई छ ।
भारत प्रवासमा रहेका बेला पुष्पलालले २००६ साल वैशाख १० गते आफूसहित निरञ्जन गोविन्द वैद्य, नारायणलिवास जोशी र नरबहादुर कर्माचार्य संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । उहालार्ई बाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ ।
पञ्चायतविरुद्धको संघर्षका लागि नेपाली काँग्रेससँग सहकार्य गर्ने नीति अबलम्बन गरेका कारण पुष्पलाललाई केही बामपन्थी दलहरुले नै गद्धारको संज्ञा दिएका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।
पुष्पलालले विसं २००६ सालमा स्थापना गर्नु भएको पार्टी नेकपा विभाजित हुँदै पुनः एक भएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भई नेकपा बनेको छ । नेपालका ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा आएपछि पुष्पलालको नेपालका कम्युनिष्ट पार्टी एक बनाउने सपना पूरा भएको छ ।



















प्रतिक्रिया दिनुहोस्