काठमाडौं,१ श्रावन । नेपाली समाजमा साउने संक्रान्तिलाई एउटा पर्वकै रुपमा मनाउने पुरानो प्रचलन छ । तर, शहरमा भन्दा गाउंघरमा साउने संक्रान्तिको प्रचलन बढी हुन्छ ।
पहाडमा यसबेला वर्षे धान पाक्ने र हरियो मकै खाने बेला हुने भएकाले धान र मकैको न्वागी खाने प्रचलन छ । मांसहारीले आजको दिन राँगा, बंगुर तथा खसीबोका वा कुखुराको मासु खाएर साउने संक्रान्ति मनाउने गर्दछन् । पहाडमा आजको दिन सार्वजनिकस्थलमा स्याउला ओच्छ्याएर मासु काटेर गाउँलेहरुमा भाग लगाउने प्रचलन छ ।
आजको दिनलाई लुतो फाल्ने दिन पनि भनिन्छ । बलिरहेको अगुल्टो घुर्यानतिर मिल्काएर ‘जा लुतो जा’ भन्दै लुतो फाल्ने ग्रामीण परम्परा छ । लुतो फाल्ने क्रममा विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्ने प्रचलनसमेत रहेको छ । यसरी पूजा गर्दा दाद, लुतो एवं खटिराजन्य छालामा लाग्ने रोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने लोक विश्वास रही आएको छ ।
साउने संक्रान्तिको साँझमा कुकुरडाईनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी इत्यादि वनस्पतिहरू जलाएर आंगनको चारैदिशामा लुतो भाग् भन्दै फ्याक्ने चलन छ ।
त्यसैगरी लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख, घण्ट, थाल बजाउने, ढिकी कुट्ने र होहल्ला गर्ने गरिन्छ । घरबाट लुतो भागोस् भनेर साँझमा केहीबेर ढोका बन्द गर्ने परम्परा अचेल हराउंदै गएको छ ।
धरान निवासी संस्कृतिविद प्राध्यापक डा टंक न्यौपाने कृषिप्रधान समाजमा हिलोमा काम गर्नुपर्ने हुँदा लुतो लगायतको छालासम्बन्धी रोग लाग्ने भएकाले साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रुपमा लिने गरिएको बताउंछन् ।
तर, साउनमा मासु खानुहुँदैन भन्ने प्रचलन सही नभएको डा। न्यौपाने बताउँछन् । वर्षायाम खेतीपातीको समय भएकाले झनै प्रोटिनयुक्त खानेकुराको आवश्यकता पर्ने बताउँदैै प्राडा न्यौपाने भन्छन्– ‘साउन महिनामा मासु बार्ने प्रचलन थिएन । अहिले पनि साउने यसंक्रान्तिमा मासु काट्ने चलन पहाडतिर उनले रहेको बताएका छन ।
उनले ,आजको आधुनिकीकरण र शहरीकरणले गर्दा लुतो फाल्ने संस्कार समाप्त भएपछि अब यो देशमा लागेको जुन रोगव्याधि छ, यो लुतो चाहिँ फालिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्