काठमाडौं, २९ जेठ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ ।
सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यकता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने पनि विभागका प्रवक्ता विनोद लामिछानेले जानकारी दिए ।
विभागले सम्पत्ति छानवीन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ । गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्